धरान । नेपाल प्रेस युनियन सुनसरीले हरेक वर्ष एकजना सक्रिय पत्रकारलाई पुरस्कार दिनेगरी अक्षयकोष स्थपना गरेको छ । 

इटहरीका व्यवसायी शिवप्रसाद घिमिरेले एसजी ग्रुपको नामबाट आफ्ना आमाबुबा गोविन्द–खेमकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार र सिर्जनशील युवा पत्रकारिता पुरस्कारको स्थापना गरेका हुन् । 

राष्ट्रिय पत्रकारिता पुरस्कारको राशि एक लाख एक हजार रहेको छ भने सिर्जनशील युवा पत्रकारिता पुरस्कारको राशि ५१ हजार रहेको छ । शिवप्रसाद घिमिरेका छोरा सुवोध घिमिरे र प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले शनिबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै अक्षयकोष स्थापना गरेका हुन् । 

आफूहरूले व्यवसायसँगै सामाजिक काम पनि गर्नुपर्छ भन्ने उद्देश्यले उक्त पुरस्कारका लागि रकम प्रदान गरिने गरी सम्झौता गरिएको घिमिरेले बताए । युनियन सुनसरी अध्यक्ष अधिकारीका अनुसार निरन्तर सक्रिय रूपमा कलम चलाइरहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गरिने गरी उक्त राशिको अक्षयकोष स्थापना गरिएको हो ।