धरान । ‘परिवर्तनका लागि सामाजिक अभियान’ ले धरानको प्रमुख आकर्षणको रूपमा रहेका मठमन्दिर, कला–संस्कृति र एडभेन्चरको भिडियो क्लिप निर्माण गरेको छ ।

कोभिडपछि बामे सर्न थालेको धरानको पर्यटनको प्रवद्र्धनका लागि अभियानले भिडियो निर्माण गरेको जनाएको छ । नेपाल र विशेष गरी भारतको पश्चिम बङ्गाल तथा बिहारमा फेसबुक पेज, टिकटक र इन्स्टाग्रामबाट सो क्षेत्रहरूको प्रवद्र्धन गरिने अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

‘धरानका पर्यटकीय क्षेत्र, कलासंस्कृति र एडभेन्चरको छोटो भिडियो निर्माण गरेका छौं, फेसबुक, इन्स्टाग्राम र टिकटकबाट प्रवद्र्धन गर्छौं । पक्कै पनि यो प्रयोगले धरान आउने पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुनेछ’–अध्यक्ष बरालले भने । अत्याधुनिक प्रविधि प्रयोग गरेर छायाङ्कन र सम्पादन गरिएको भिडियो क्लिप बूढासुब्बा मन्दिरको १ मिनेट ३६ सेकेण्ड, दन्तकाली मन्दिरको २ मिनेट ८ सेकेण्ड, पिण्डेश्वर मन्दिरको २ मिनेट १७ को रहेको छ ।

त्यसैगरी धरानका विभिन्न संस्कृति र एड्भेन्चरको भिडियो पनि सम्पादनको क्रममा रहेको अभियानका अध्यक्ष बरालले बताए । धरानको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र नै रहेको र सो क्षेत्रको प्रवद्र्धन गर्न धरानेहरू लागिपर्नुपर्ने बराल बताउँछन् ।

rudrakxhha

स्वास्थ्य क्लिनिक १४ औं संस्करणमा
परिवर्तनका लागि सामाजिक अभियानले स्वास्थ्य र शिक्षा क्षेत्रमा कार्यसमेत गर्दै आइरहेको छ । अभियानले हरेक महिनाको पहिलो र तेस्रो शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त साहद्वारा सामाजिक स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आइरहेको छ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूका लागि सञ्चालित सो क्लिनिकमा विशेषगरी मुटु, रक्तचाप र मधुमेह परीक्षण गर्ने गरिन्छ । वडावडामा क्लिनिक सञ्चालन गर्ने कार्यक्रम १३ औं संस्करण सम्पन्न भइसकेको छ । अभियानले आगामी १४ औं संस्करणको सो क्लिनिक वैशाख ३ गते धरान ३ नं. वडा कार्यालयको सहयोगमा भानुस्मृति मा.वि.मा आयोजना गर्न लागेको छ ।

mandir

‘घरको स्कुल’ धरान–१५ मा
त्यसैगरी परिवर्तनका लागि सामाजिक अभियानले शिक्षा क्षेत्रमा ‘घरको स्कुल’ कार्यक्रम सञ्चालन गरिरहेको छ । निम्न आय भएका अभिभावकका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित उक्त कार्यक्रम धरान–१५ खोरिया बस्तीस्थित जनता आधारभूत विद्यालयमा सञ्चालन भइरहेको छ ।

सो विद्यालयमा अध्ययनरत ३, ४ र ५ कक्षाका विद्यार्थीहरूलाई २ समूहमा विभाजन गरी सञ्चालित ‘घरको स्कुल’ परियोजनामा हाल ४५ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

ttt