पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले वुधबार नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष मोहन भट्टराईलाई सम्मानित गरेको छ ।

मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरभित्रका पत्रकार र सञ्चारमाध्यमका लागि वर्षेनी हुँदै आएको पत्रकार सम्मान, पुरस्कार र लेखनवृत्ति कार्यक्रममाझ आर्थिक वर्ष २०७८/७९ का लागि पथरी एफएमका प्रवन्धक भट्टराईलाई उनकै मुहारचित्र, दोसल्ला, सम्मानपत्र र नगद २० हजारले सम्मानित गरिएको हो ।

यसैगरी, प्रदेश दैनिकका सम्पादक भीमराज अधिकारीलाई नगद १५ हजार नगद र प्रशंसापत्रले र क्रेजी डटकम साप्ताहिकलाई २५ हजार नगद र प्रशंसापत्र सहित पुरस्कृत गरिएको छ ।

त्यस्तै, पत्रकारहरु फिपराज बेघा, दिनेश सुब्बा, केशव निरौला र विजय धिमाललाई जनही १४ हजारको लेखनवृत्ति प्रदान गरिएको छ । लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनोट समितिका संयोजक प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलको अध्यक्षताको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, समिति सदस्य उपसचिव शालिग्राम काफ्ले, सञ्चार क्लब उर्लाबारीका अध्यक्ष नवराज भटटराई सहितले सम्मान, पुरस्कार र लेखनवृत्ति वितरण गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख राईले नगरको विकासका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै नगरले जहिल्यै सञ्चारमैत्री गतिविधि गर्दै आएको वताए । २०७५ सालमा नगरले सूचना तथा सञ्चार कार्यविधि पारित गरी वर्षेेनी यसप्रकारको कार्यक्रम गर्दै आएको छ ।

मिडिया प्रवद्र्धन कार्यक्रममा नगरको ठेगानामा दर्ता भइ नविकरण भएर सञ्चालनमा आएका सञ्चारमाध्यमा जनहितमा जारी सूचना प्रकाशन गर्न दिने र सो वापत मासिक भूक्तानी गर्दै आइरहेको छ । जसमा हाल एउटा एफएम रेडियो, ३ वटा साप्ताहिक पत्रिका र ५ वटा अनलाइनलाई यसखाले सहकार्य भएको छ ।