धनकुटा । जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाको अगुवाईमा एक महिने सफा हिमाल अभियान–२०२२ संचालन हुने भएको छ ।
"सफा हिमाल अभियान २०२२" को मंगलवार प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच फ्याल्ग अफ सेयरमनी सम्पन्न भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशकबाट स्वागत मन्तव्य तथा च्याम्पियन लिडरबाट समग्र अभियानको वारेमा जानकारी दिइएको थियो । कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले च्याम्पियन लिडरहरुलाई माउन्टेन क्लिन अफ च्याम्पियन–२०२२ को व्यानर हस्तान्तरण गरेर अभियानको औपचारिक रुपमा शुभारम्भ गरे ।
अभियानको क्रममा प्रकृति तथा पर्यावरणको संरक्षण तथा जलवायु परिवर्तनका असरहरुलाई न्यूनीकरण गर्न विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य तीन हिमालहरु (ल्होत्से, कञ्चनजंघा र मनास्लु) हिमालको सफाई गर्ने अभियानको मुख्य उदेश्य रहेको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुन लागेको उक्त अभियानमा नेपाल सरकारका सम्बद्ध निकायहरु लगायत नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना लगायतको आर्थिक एवं प्राविधिक सहयोगसमेत रहेको छ ।
तोकिएको एक महिनाको अवधीमा ३५ टन फोहोर संकलन गर्ने लक्ष्यका साथ शुरु भएको उक्त अभियान विश्व वातावरण दिवसका दिन औपचारिक रुपमा समापन हुनेछ । यस बर्ष सफा हिमाल अभियानको दौरान नेपाली सेनाका ४ (चार) डाक्टर अधिकृतहरु खट्टिएर हाई अल्टिच्युडले स्वास्थ्यमा पार्ने प्रभाव अध्ययन गर्नुका साथै जोखिम न्यूनीकरणका लागि माउण्टेन मेडिसिन रिशर्च समेत गर्नेछन् ।
नेपाली सेनाले विभिन्न सरकारी तथा गैह्र सरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि “सफा हिमाल अभियान" शुरु गरेको थियो । यस किसिमको अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा ग्लोबल वारर्मिङको असरलाई कम गर्न केही हदसम्म सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।