विराटनगर । अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योग सञ्चालन हुन नसक्दा ६० प्रतशित उत्पादन घटेको उद्योगीले दाबी गरेका छन् ।
दैनिक औद्योगिक फिडरमा १४ घण्टासम्म लोडसेडिङ गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले सात दिनयता अघोषित लोडसेडिङ गर्दा उत्पादनमा ६० प्रतिशतले कटौती भएको छ । उद्योगीहरूले अघोषित लोडसेडिङ हटाउन माग गर्दै प्रधानमन्त्री, अर्थमन्त्रीसम्मलाई ज्ञापन–पत्र बुझाइसकेका छन् ।
सुनसरीस्थित प्रशान्त इन्डष्ट्रिज प्रालि तथा अनन्त खाद्य उद्योगका निर्देशक कृष्णकुमार अग्रवालले लोडसेडिङका कारण ५० प्रतिशतभन्दा बढी उत्पादन घटेको दाबी गरे । ‘कुनै कुनै उद्योगको त्योभन्दा बढी नै घटेको छ, कति उद्योगहरूको हिटिङ टाइम नै ७–८ घण्टा लाग्छ, त्यस्ता उद्योगहरूले तीन–चार घण्टामा कति प्रोडक्सन गर्लान् ?’ उनले भने, ‘डिजल यति महँगो भइसक्यो, जेनेरेटरबाट उद्योग चलाउनै सकिँदैन ।’
सुनसरी–मोरङ औद्योगिक करिडोरमा मध्यम् र ठूला खालका करिब १ सय ५० उद्योग छन् । प्रदेश १ को राजधानी विराटनगरका तीन प्रमुख उद्योगी संस्थाले ६० प्रतिशतले उत्पादन घटेको दाबी गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १, मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले केही दिनअगि गरेको पत्रकार सम्मेलनमा लोडसेडिङका कारण ६० प्रतिशत उत्पादन घटेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष राजेन्द्र राउतले अघोषित लोडसेडिङका कारण उद्योगहरू थप समस्यामा परेको भन्दै तालिका सार्वजनिक गर्नुपर्ने माग गरे ।
‘घोषित रूपमा लोडसेडिङ गरे उद्योग सञ्चालन गर्न सकिने थियो । त्यही अनुसार उद्योग सञ्चालन हुने थियो । मजदुरहरूलाई पनि त्यही अनुसार बोलाउन सकिने थियो’ उनले भने, ‘कोभिड–१९ पछि उद्योगधन्दाहरू थलिएको अवस्था छ । तरलताको कारणले मागअनुसार ऋण नपाएको अवस्थामा लोडसेडिङले थप समस्या थपिएको छ ।’
मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालका अनुसार नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरमा १२ घण्टा लोडसेडिङ गर्ने भने पनि १४ घण्टा गरिरहेको छ । अध्यक्ष रिजालले यति लामो समय लोडसेडिङ भएर लाइन आएपछि कारखाना सञ्चालन गर्न नै दुई घण्टा लाग्ने उल्लेख गरे । ‘लाइन आएपछि २ घण्टा त ब्वाइलर तताउन नै समय लाग्छ, त्यति अवधिसम्म उत्पादन हुन सक्दैन’ रिजालले भने, ‘त्यसैले १२ घण्टा लाइन आयो भने पनि १० घण्टामात्र उत्पादन गर्न सकिन्छ । १४ घण्टा लोडसेडिङ भयो भने ८ घण्टामात्र उत्पादन गर्न मिल्छ ।’
प्राधिकरणले १ मेगावाटभन्दा कमका उद्योगमा लोडसेडिङ नगर्ने जनाए पनि सबै उद्योगको लाइन काटिरहेको उनले बताए । ‘औद्योगिक फिडरको लाइन काटिएको हो, उद्योगपिच्छे काटिएको होइन’ रिजालको भनाइ थियो, ‘फिडरको लाइन काटिएपछि साना–ठूला सबै उद्योग मारमा परेका छन् । प्राधिकरणले एक मेगावाटभन्दा कमका उद्योगमा लाइन जाँदैन भनेर झुठको खेती गरेको मात्र हो ।’
उनले कोभिडको कहरबाट भर्खरै बौरिन थालेको औद्योगिक क्षेत्र तरलताको सङ्कट, बैङ्कको ब्याज वृद्धि हुँदै पछिल्लो चरणमा लोडसेडिङबाट उठ्नै नसक्ने भएको दाबी गरे । ‘भारतले राति ४ घण्टाका लागि मात्र भा.रु. २० रुपैयाँमा विद्युत् बिक्री गरेको हो । त्यसलाई २४ घण्टाको सालाखालामा हिसाब गर्दा प्रतियुनिट ११ रुपैयाँमात्र पर्छ । तर, प्राधिकरणले हामीलाई गुमराहमा राख्न खोजेको छ’–उनले भने ।
उनले राति पिक आवरमा ४ देखि ६ घण्टा उद्योग बन्द गर्न उद्योगीहरू तयार भएको स्पष्ट पारे । उनले भारतसित खरिद गरेको ४ घण्टाको पिक आवरको विद्युत्को दरभाउका नाममा १२ देखि १४ घण्टासम्म औद्योगिक फिडरको बिजुली नकाट्न आग्रह गरे । उनले उद्योगीले जेनेरेटर चलाएर उद्योग सञ्चालन गरेमा प्रतियुनिट विद्युत्को ६० रुपैयाँ पर्ने जानकारी दिए ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २ हप्ताअघि मात्र उद्योगीको समूहलाई ठूला क्षमताका नयाँ–नयाँ उद्योग चलाउनुस्, चाहेजति बिजुली दिन्छौं भन्दै आग्रह गरेको स्मरण गरे । अध्यक्ष प्याकुरेलले भने, ‘हामीलाई त अँध्यारामा राखिएको रहेछ । हामी त अझै आयातमै निर्भर रहेछौं । हामीलाई प्राधिकरणले यथार्थ कुरा गरिदिएको भए हामीले त्यहीअनुसारका योजना बनाउने थियौं ।’
प्याकुरेलको प्रश्न थियो, ‘हामी यतिबेला प्राधिकरणको जवाहदेहिता खोजिरहेका छौं । के प्राधिकरण र कार्यकारी निर्देशक घिसिङजी देश र जनताप्रति जवाफदेही हुनुपर्दैन ?’ उनले प्राधिकरणले राति ८ देखि १२ बजेसम्म ४ घण्टाको अवधिका लागिमात्र भारतसित प्रतियुनिट भा.रु. २० रुपैयाँमा विद्युत् खरिद गरिरहेको दोहोर्याए ।
४ घण्टा महँगोमा खरिद गरेको उदाहरण देखाएर १२ देखि १४ घण्टासम्म उद्योगमा लाइन काट्नु कतिको जायज हो भन्दै उनले रोष प्रकट गरे । अध्यक्ष प्याकुरेलले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ विगत तीन दिनदेखि उद्योगीको सम्पर्कमा आउन नचाहेको आरोप लगाए । उनले तीन दिनअघिसम्म कार्यकारी निर्देशक उद्योगीसित वार्तामा भए पनि अहिले सम्पर्कमा नरहेको गुनासो गरे ।
‘कोभिडमा थला परेका उद्योगहरू भर्खरै पूर्ण उत्पादनतिर लाग्दै थिए । यहीबेला लिक्विडिटी क्रन्च र ब्याजवृद्धिलगायतका समस्या थपिए । उद्योगले यतिबेलै धेरै उत्पादन र आपूर्ति गर्नुपरेको छ । किनकि चैत मसान्तमा कर र ब्याजको किस्ता बुझाउनु छ ।
तर, यहीबेला हामी लोडसेडिङका कारण उत्पादनमा कटौती गर्न बाध्य भयौं’–उनले भने । सीएनआईका प्रदेश १ का अध्यक्ष भीम घिमिरेले प्राधिकरणले अहिलेसम्म उद्योगीलाई लोडसेडिङको तालिका दिन नसकेको भन्दै आक्रोस व्यक्त गरे । अध्यक्ष घिमिरेले लोडसेडिङको तालिकाका लागि आफूले ऊर्जा मन्त्रीसमक्ष पनि अनुरोध गरेको र मन्त्रीले कार्यकारी निर्देशकलाई देखाएको जानकारी गराए ।
उद्योगी–व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. १ ले प्रेस विज्ञप्ति जारी गर्दै नियमित बिजुली उपलब्ध गराउन प्राधिकरणसँग माग गरिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल विद्युत् प्राधिकरणले १२ घण्टाको अघोषित लोडसेडिङ गरेपछि उद्योगहरूमाथि ठूलो बज्रपात भएको बताएको छ ।
महासङ्घको प्रदेश नम्बर १ का तर्फबाट विज्ञप्ति जारी गर्दै अध्यक्ष टीकाराज ढकालले अघोषित लोडसेडिङका कारण औद्योगिक क्षेत्रले ठूलो धक्का व्यहोर्नु परिरहेको बताए ।
प्राधिकरणले भारतबाट विद्युत् खरिद गरी आपूर्ति गर्दा महँगो हुने र प्राधिकरण नोक्सानीमा जाने कारण देखाएको विज्ञप्तिमा उल्लेख छ । प्राधिकरणको घाटा न्यूनीकरण गर्ने नाममा उद्योगमाथि नै थप भार पर्ने गरी विद्युत् आपूर्ति गर्ने प्राधिकरणको नीति व्यावहारिक नभएको विज्ञप्तिमा छ ।