धनकुटा । पैसा चोरेको निहुँमा धनकुटा नगरपालिका–१ सिंजाली टोलछेउमा हजुरबुबाले नातिलाई चरम् यातना दिएका छन् ।
१५ वर्षीय नातिले पैसा चोरेको निहुँमा हजुरबुबा केशर मगरले बिहीबार दिनभरि आँगनको खम्बामा बाँधी यातना दिएका हुन् । यातनाका कारण बालकको जिउ, हातखुट्टा सुन्निएको छ । मगरले दुवै हात र खुट्टा बाँधेर चिसो भूइँमा राखी सिस्नुपानीले यातना दिएका हुन् ।
अमानवीय यातना दिने हजुरबुबालाई हिले प्रहरीले सम्झाई बुझाई गरेर छाडिदिएको छ । पशुलाई झैं हजुरबुबाले यातना दिएको भए पनि घटनालाई प्रहरीले सामान्यीकरण गरेको छ । प्रहरीले बिहीबार रातिमात्रै स्थानीयको जानकारीमा उद्धार गरी पीडितलाई उपचारमा लगेको थियो ।
उपचारपश्चात् हिले प्रहरी चौकीले बालकको बुबाआमालाई जिम्मा लगाएको छ । हिले प्रहरी चौकीका असइ प्रेम थापा मगरले हजुरबुबालाई सम्झाई बुझाई पठाएको र बालकलाई आमाबुबाको जिम्मा लगाएको बताए । हजुरबुबा केशरले भने नातिले यस्ता गलत गतिविधि यसअघि पनि गर्दै आएकाले यातना दिएको भनी प्रहरीलाई बताएका थिए ।
सिस्नुपानीको कुटाइका कारण बालकको मुखबाट रगतसमेत बगेको थियो भने अनुहार सुन्निएको एक स्थानीयले बताइन् । ‘अनुहारमा समेत सिस्नुपानी लगाइँदा ऊ धेरै चिच्यायो’ छिमेकी चित्रमायाले भनिन्, ‘छरछिमेकसमेत उद्धार गर्न छाडेर रमिते बनेका थिए ।’
आफूले यातना नदिनका लागि भन्दा उल्टो आफै असुरक्षित भएको उनले बताइन् । हजुरबुबा केशरले मादक पदार्थ सेवन गरी बालकलाई यातना दिएका थिए ।
केशरले बालकका पक्षमा कोही आए पनि नछाड्ने भन्दै नाङ्गो खुकुरी देखाएर तर्साएको स्थानीय बताउँछन् । रिपोर्टिङका लागि हिँडेका पत्रकारहरूले समेत देखेपछि बालकलाई मुक्त गर्न अनुरोध गर्दा खुकुरी देखाएर तर्साएका थिए ।
बालकले ‘अब म गल्ती गर्दिनँ छाडिदिनू’ भन्दा पनि नसुनेको एक पत्रकारले जानकारी दिए । बालकलाई खानासमेत नदिई बाँधिएको स्थानीय बताउँछन् । स्थानीय हिले माविमा अध्ययनरत बालकको गतिविधि केही फरक भएको स्थानीय बताउँछन् ।
बालकका बाबुआमा धनकुटा–२ भीरगाउँमा खेती किसान गर्छन् । बालकको रेखदेख र विद्यालय जान सहज हुने भन्दै बाबुआमाले हजुरबुबाको साथमा राखेका थिए ।
तर, मादक पदार्थको लतमा लागेका कारण हजुरबुबाले अन्य कारण देखाउँदै बालकलाई यातना दिँदै आएको स्थानीय बताउँछन् । पीडित बालकलाई हिलेस्थित प्रहरी चौकीबाट गएको प्रहरी टोलीले झन्डै १२ घण्टापछि बिहीबार राति ८ बजे उद्धार गरेको हो ।