धनकुटा/ नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत फागुन २२ गतेदेखि सुरु भएको उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालिम शुक्रबार सम्पन्न भएको छ । 

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो । प्रधानमन्त्री तथा रक्षा मन्त्री देउवाले देशको संवेदनशील भू–राजनैतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने बताए । देउवाले देशको हित र स्वार्थमा कुनै पनि किसिमको आँच आउन नदिन सबैजना सजग र प्रतिबद्ध हुन आवश्यक रहेको आंैल्याए ।

प्रधान सेनापति महारथी प्रभुराम शर्माले वर्तमान परिवेशमा आर्थिक, राजनीतिक र सैनिक क्षेत्रहरूमा आफ्नो पकड स्थापित गर्नु आजको आवश्यकता रहेको औंल्याए ।

२०७२ सालबाट सुरु गरिएको यस तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय एवम् नेपाल रेडक्रसका वरिष्ठ अधिकारीहरू र सञ्चारकर्मीहरू गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो भने हालसम्म १ सय ४३ जनाले यस तालिममा सहभागिता जनाइसकेका छन् ।