विजयपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले धरान खोनपानी व्यवस्थापन बोर्डका नेतृत्वको राजीनामा माग गरेको छ ।

शुक्रबार उद्योग वाणिज्य सङ्घ सुनसरीको हलमा पत्रकार सम्मेलन गर्दै धरानका नगर प्रमुख तिलक राई र उपप्रमुख मञ्जु भण्डारीले बोर्डलाई व्यवस्थापन गर्न नसकेको भन्दै राजीनामा मागेका हुन् । ‘प्रमुख र उपप्रमुखले न त धारामा पानी पर्याप्त दिन सक्नुभयो, न त पानी अभाव हुनका कारण नै  बताउन सक्नुभयो । बरु बोर्डका नेतृत्वहरू आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्नमा नै व्यस्त हुनुहुन्छ’–हालै निर्वाचित नगर अध्यक्ष सूर्यबहादुर भट्टराईले भने ।

खानेपानी बोर्डका नेतृत्व गैरजिम्मेवार भएकाले धराने जनतालाई पानी खुवाउन नसकेको दाबी पार्टीले गरेको छ । नगर प्रमुख र उपप्रमुखको नेतृत्वबाट राजीनामा दिन र खानेपानी व्यवस्थापन बोर्डलाई व्यवस्थित बनाउन उद्योग वाणिज्य सङ्घ सुनसरीलाई नेतृत्व दिनुपर्ने माग गरेको छ ।

केन्द्रका अध्यक्ष भट्टराईले भने, ‘खानेपानी व्यवस्थापन गर्न सक्नुभएन । उद्योग वाणिज्य सङ्घले गर्न सक्छ कि भन्ने लागेको छ तर, समन्वय भएको छैन ।’ उनले प्रमुख राई निर्वाचित भएर आएदेखि हालसम्म एउटा पनि बैठक राखी खानेपानीका विषयमा छलफल नगराएको बताए । उनले आफूले पनि खोनपानी व्यवस्थापन बोर्डको सदस्यबाट राजीनामा दिने बताए । उनले भने, ‘खानेपानी समस्या समाधानका के कुरा गर्नु ? आजसम्म एउटा छलफल भएको छैन ।’

केन्द्रले उपमहानगरको नेतृत्वको ढिलासुस्तीले राष्ट्रिय भूमि आयोगसँग समयमा नै सम्झौता गर्न नसक्दा भूमिहीन, दलित, अव्यवस्थित सुकम्बासीहरूलाई जग्गा धनीपुर्जा वितरणमा ढिलाइ हुने भएको छ ।

आयोगले फागुन २६ गते सूचना जारी गरेको र समयमा नै भूमिहीन सुकुम्बासीहरूको आवेदन सङ्कलन गरी आयोगलाई सिफारिस गर्न माग गरेको थियो । यस्तै धरानका विभिन्न क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी खरिद बिक्री भएको र स्थानीय सरकार रमिते बनेकोप्रति आपत्ति जनाएको छ ।

पार्टीको विज्ञप्तिमा कालापानी र देवीथान क्षेत्रमा खोलाको बीच भागमा अतिक्रमण गरी घरटहरा बनेको र नगर सरकार रमिते बनेको उल्लेख छ । लामो समयदेखि बसोबास रहेको सुन्दर बस्तीलगायतका बस्तीहरू उठाउने नगरको निर्णयप्रति केन्द्रले आपत्ति जनाएको छ । पार्टीले सर्दुजलाधार क्षेत्रको पनि अतिक्रमण रोक्न माग गरेको छ ।