विराटनगर । म्यादी प्रहरीमा भर्ना हुन मोरङमा युवाहरूको आकर्षण बढेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन युवाहरूको आकर्षण बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय तह निर्वाचनका लागि जिल्लामा ३ हजार ७ सय २७ जना म्यादी प्रहरीको माग गरिएको छ । आवेदन फारम भर्ने समय सकिँदा मोरङमा १० हजार १ सय ३४ जनाले म्यादी प्रहरी बन्नको लागि आवेदन दिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

आवेदन दिनेमा महिलाभन्दा पुरूषभन्दा बढी रहेका छन् । ७ हजार ८ सय १ पुरुष र २ हजार ३ सय ३३ महिला रहेका छन् । चैत ६ देखि ११ गतेसम्म आवेदन खुल्ला गरिएको समयमा जिल्ला प्रहरी कार्यालय मोरङमा आवेदन दिन जानेको भीड लागेको थियो । आवेदन दिनेहरूको परीक्षा चैत १५ देखि २१ गतेसम्म रहेको मोरङ प्रहरीले जनाएको छ ।

आवेदन दिन आएकाहरूमध्ये ७० प्रतिशत २० देखि २५ वर्षका युवाहरू रहेका छन् । एसईई दिएका, पूर्वम्यादी प्रहरी, भूतपूर्व सेना–प्रहरीलगायतले आवेदन दिएका छन् । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त बुझाउन सक्ने प्रावधन रहेको छ ।

बेरोजगारीको सङ्ख्या उच्च रहेकाले पनि म्यादी प्रहरी भर्नामा युवाहरूको आकर्षण बढी देखिएको सर्वसाधारणको भनाइ छ । म्यादी प्रहरीमा भर्ना हुन आउनेहरूले घरपरिवार पालन–पोषणका लागि आउने गरेको बताएका छन् । ४० दिने म्यादी प्रहरीप्रति युवाहरूको बढ्दो आकर्षणले एकातर्फ उनीहरूको प्रहरी बन्ने सपना पूरा गर्दैछ भने अर्कोतर्फ मुलुकमा व्याप्त बेरोजगारीको डरलाग्दो दृश्य देखाइरहेको छ ।

‘घरको समस्याले प्लस टुपछि पढाइ–लेखाइ छोड्नुपर्ने भयो । त्यसपछि अरू कतै रोजगारी पनि पाइएन’ मोरङको पथरीशनिश्चरेकी अनु धिमाललले भनिन्, ‘रोजगारी नपाएपछि म्यादी प्रहरीका लागि आएकी हुँ ।’

मोरङको मिक्लाजुङकी बबिता भण्डारीले यसअघि आर्मीमा प्रयास गरे पनि छनौटमा नपरेपछि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएको बताइन् । ‘घरमा काम छैन । म्यादी प्रहरीमा जागिर खान आवेदन दिन आएकी छु’ उनले भनिन्, ‘यसबाट आउने पैसाले परिवार पाल्न सहज हुनेछ ।’