भद्रपुर / पूर्व राज दम्पती झापा आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह बुद्ध एयरको जहाजबाट शुक्रबार बिहान ११ बजे झापा आएका हुन् । 

झापा आएका पूर्व राज दम्पतीलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा उनका शुभचिन्तक र समर्थकहरूले भव्य स्वागत गरेका थिए । स्वागतको क्रममा उनीहरूले राजा आउँ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नाराबाजी गरेका थिए । 

स्वागत पश्चात् पूर्व राज दम्पती दमकस्थित हिमालयन टी स्टेटको मिनी दरबारतर्फ प्रस्थान भएको जनाइएको छ ।  आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन नजिकिएसँगै पूर्व राजा ज्ञानेन्द्र झापा आएकोले उनको पूर्व भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । 

देशमा राजतन्त्र फर्काउने अभियानमा लागेका राप्रपाको पकड जिल्ला मानिएकोले पूर्व राजा ज्ञानेन्द्र दमक बसोबासको क्रममा राजनीतिक व्यक्तिहरूसँग गरिने भेटघाटलाई विशेष रुपमा हेरिनेछ । पूर्व राज दम्पती झापामा एक महिना बस्ने कार्यक्रम रहेको राप्रपा नेतृ राधा कार्कीले बताइन् ।

सो अवधिमा पूर्व राज दम्पती विभिन्न व्यक्तिहरूसँग भेटघाट र पूर्वका धार्मिक स्थल तथा मन्दिरहरूको दर्शन गर्ने कार्यक्रम रहेको उनले बताइन् ।