श्रमिकको हक, हित र अधिकार संरक्षणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएवापत एकीकृत ट्रेड युनियन महासङ्घ, नेपालले विभिन्न व्यक्तित्वलाई सम्मान गर्ने भएको छ । 

ट्रेड युनियनका क्षेत्रमा लामो समयदेखि क्रियाशील रहेका मुकुन्द न्यौपाने र ललित बस्नेतलाई ‘आइसिटियु रत्न’ तथा चुडामणि जङ्गली, गोमा तिमिल्सिना र सुरेन्द्र राईलाई ‘आइसिटियु तारा’बाट सम्मान गरिने महासङ्घले जनाएको छ ।  

यही चैत ११ गते महासङ्घको घोषणासभाका दिन उनिहरुलाई नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्मान गर्नेछन् । गत मङ्सिर २९ गते विष्णु लम्सालको नेतृत्वमा ५१ सदस्यीय महासङ्घको तदर्थ समिति गठन भएको थियो ।

अध्यक्ष लम्सालले श्रम बजार सुधार गरी त्यहाँ रहेका समस्या समाधान गर्न प्रयास गर्ने बताउदै श्रम कानुन तथा सामाजिक सुरक्षा कानुन कार्यान्वयन गराउन आफूले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । श्रमिकको सीप विकास तथा उनीहरुको हकअधिकार र पेशागत सुरक्षाका लागि अभियान नै चलाइने उनले बताए ।

आगामी साढे दुई वर्षभित्र महासङ्घको प्रथम अधिवेशन गराउने महासङ्घले जनाएको छ । आगामी छ महिनाभित्र राष्ट्रिय भेला गरिने लक्ष्य राखेको महासङ्घले अहिले सदस्यता वितरण अभियानलाई व्यापक रुपमा अगााडि बढाएको बताइएको छ ।