धरान । अन्तर विद्यालय थ्री बाइ थ्री सियोन बास्केटबल प्रतियोगिताको महिला पुरुषको उपाधि धरान १५ को होलिल्यान्ड स्कुलले जितेको छ ।

सियोन स्कुलको आयोजनामा मंगलवार सम्पन्न एक दिवसीय प्रतियोगितामा पुरुषतर्फ होलिल्यान्डले युएनलाई १०–४ र महिलामा आयोजक सियोन स्कुललाई ११–० अंकको पराजित गर्दै उपाधि जितेको हो । विजेता तथा उपविजेतालाई ट्रफीसहित, कफि पव एण्ड रेष्टोका तर्फबाट पाँच सय रुपैयाँ बराबरको फुड भौचर, मेडल र प्रमाणपत्र प्रदान गरिएको प्राचार्य सन्जीव बान्तवाले जानकारी दिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुष र महिलातर्फ नै होलिल्यान्डकी युडी लिम्बू र इच्छा लावती घोषित भए । यसै गरी उदयीमान खेलाडी आयोजक सियोन स्कुलका गौरव गुरुङ्ग र इनु लिम्बू घोषित भए । 

पुरस्कृत खेलाडीहरूलाई सियोन स्कुलका अध्यक्ष खड्कबहादुर मगर, प्राचार्य सन्जीव बान्तावा, प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईलगायतले पुरस्कार वितरण गरेका थिए । 

यता थ्री पोइन्ट प्रतिस्पर्धामा डिपो स्कुलका रिदम लिम्बू विजेता बन्दै नगद ५ सय रुपैयाँसहित ट्रफी पाए । प्रतियोगितामा धरान र तरहरा गरी पुरुषतर्फ ९ टिम र महिलातर्फ ७ टिम सहभागी बनेका थिए । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रतियोगिताको उद्घाटन गरे ।