विराटनगर । सुनसरी दुहबी नगरपालिकाको एक जना महिलाले मिटरब्याजीले दुुःख दिएको गुनासो गरेकी छिन् ।
दुहबीमा किराना पसल गर्दै आएकी ३६ वर्षिय मुस्कान खातुनले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै आफूलाई विराटनगरका मिटरब्याजी अब्दुर गफारले दुःख दिएको गुनासो गरेकी हुन् ।
उनले गत साउनमा गफारसँग ५ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी लिएको रकमको साँवा तिरिसक्दा पनि थप ब्याज रकम भन्दै साढे ७ लाख दिनुपर्ने भन्दै दुःख दिएको उनले बताइन् । उनले ५ लाख रुपैयाँ दिएर साढे ७ लाखको चेक लगेको र सावा तिरिसकेपछि चेक बाउन्स भएको आरोपमा आफ्नो पति अफ्तर मियाँलाई पक्राउ गरिएको बताइन् । गफारको उजुरीका आधारमा श्रीमान् मियाँलाई दुहबी प्रहरीले ९ दिन अगाडि पक्राउ गरेर कष्टडीमा राखेको उनको भनाइ छ ।
‘पति अख्तर मियाँले घरव्यवहार गर्न भनि अब्दुल गफारसँग ५ लाख रुपैयाँ सापटी लिने हुँदा श्रीमान्का् नाममा रहेको कृषि विकास बैंकको साढे ७ लाखको चेक दिनुभनेपछि दिएका थियौं,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘सावा ५ लाख रुपैयाँ फिर्ता गरेपछि चेक दिन्छु भनेको थियो, तर पटकपटक गरेर सावा रकमभन्दा बढी ५ लाख ४० हजार रुपैयाँ भुक्तानी भइसकेको छ, अहिले मिटरब्याज वापत हुने चेकमा उल्लेख भए बराबरको रकम साढे ७ लान दिन दबाब दिइरहेका छन् ।’
सो दबाब नमानेपछि पतिलाई पक्राउ गरिएको र कष्टडीमा राखेको उनले बताइन् । ‘सावाँ रकम दिइसकेपछि चेक फिर्ता दिन भन्दा म त मिटर ब्याजमा रुपैयाँ लगाउने व्यक्ति हुँ, मेरो सावा पाइसके अब ब्याज वापतको रकम तपाइँले दिएको चेकको हो, त्यो चेक बराबरको रकम दिनुहोस् अनि मात्र तपाईको चेक दिन्छु भनि चेक दिन इन्कार गरेका छन्,’ उनले भनिन्, ‘त्यसो भए कानून बमोजिम ब्याज लिनुहोस् सो दिन तयार छौं, तपाईबाट त्यस्तो मिटर ब्याजको शर्तमा रुपैयाँ लिएको हैन, तपाईलाई त्यत्रो रुपैयाँ हामी गरिव मानिसले ६ महिनामा तपाईको ५ लाख रुपैयाँको डबल भन्दा बढी दिन सक्दैनौं भन्दा धाक धम्की दिइ जसरी भएपनि लिएरै छोड्छु भनि दिनप्रतिदिन मलाई मानसिक पीडा दिईरहेका थिए ।’
पत्रकार सम्मेलनमा पाँच लाखमध्ये दुई पटक २ लाखको दरले ४ लाख, पुनः ५० हजार नगद र ९० हजार बराबरको आफ्नो किराना पसलबाट गफारले सामान लगेको दाबी पनि गरिन् ।
यता मिटरब्याजी आरोप लागेका गफारले भने आफूलाई ३ महिनादेखि सावाँ रकम नै नदिएपछि निवेदन दिएर पक्राउ गराएको बताएका छन् । उनले आफूले ५ लाख नभएर साढे ७ लाख रुपैयाँ दिएको र सोही बराबरको चेक लिएको बताए ।