धरानको पहिचानसँग केही कुराहरू जोडिएका छन् । ती पहिचानहरू कुनै न कुनै कालखण्डबाट जोडिँदै आएका छन् । प्रदेश १ को सुन्दर नगरीको पहिचान बनाएको धरान जनसहभागिताले देशभर नै पहिचान बनाएको छ । यसबाहेक पनि धरानसँग जोडिएका केही यस्ता वस्तुहरू छन्, जसलाई नगरले अभिभावकत्व लिए फरक पर्दैन । त्यसमध्येको स्मरण गर्नै पर्नेमा पर्छन्, यहाँको खेलकुद । धरानको पहिचानसँग जोडिएका थुप्रै खेलहरू छन् । जस्तैः कराते, टेबलटेनिस, शारीरिक सुगठन, बास्केटबल र गोल्डकप गर्ने हिसाबमा फुटबल । यी खेलको प्रारम्भ धरानबाटै भएका छन् । यी खेलहरूले कुनै न कुनै रूपमा धरानलाई चिनाएका छन्, पहिचान दिएका छन् । यहाँबाट बर्सेनि उत्पादन हुने खेलाडीहरूले धरानको पहिचान र धरानको गरिमालाई उचो बनाएका छन् । यी खेलमा नगरले अभिभावकत्व लिइदिने हो भने बर्सेनि यी खेललाई थप प्रवद्र्धन गर्नमा मद्दत हुने थियो तर, स्थानीय सरकारले यसतर्फ अहिलेसम्म ध्यान दिएको पाइँदैन । खेलका लागि औपचारिक रूपमा बजेट विनियोजन त गर्ने गरेको छ तर, माथि तोकिएका खेलका लागि भनेर निश्चित बजेट विनियोजन गरेको अवस्था छैन ।

धरानमा विद्यमान रहेका जुन खेलहरू छन्, त्यसलाई नगरकै तर्फबाट प्रवद्र्धन गर्ने वा खेलाउने हो भने नगरको गरिमा थप उचाइमा पुग्ने थियो र जुन क्लब तथा खेलाडीले उपस्थित जनाउँछन्, त्यसमा उनीहरूको विश्वास बढ्ने थियो । खेलकै तालिकामा रहेको धरानको बूढासुब्बा गोल्डकपलाई नै हेरौं । यस खेलमा धरान उपमहानगरले आयोजकले अपेक्षा गरेअनुरूप सहयोग गरेको छैन नै, अभिभावकत्व पनि लिएको अवस्था छैन । गोल्डकपमा आफ्नो छुट्टै पहिचान बनाएको यो प्रत्येक वर्ष स्खलित हुँदै गइरहेको छ । स्खलित हुनमा विभिन्न आयामले काम गरेका छन्, त्यो पनि बहसको विषय बन्नुपर्छ । आयोजकप्रति धरानेको जुन विश्वास र आस्था छ, त्योअनुसारको प्रतिफल र आर्थिक पारदर्शितामा आयोजकले सुशासन अपनाउन नसक्दाको परिणाम भोगिरहेको छ । यसमा आयोजकले गम्भीर मनन् र विगतका त्रुटिलाई सच्याउँदै अगाडि बढ्न सक्नुपर्छ । यदि आयोजक नै धरान उपमहानगर बनिदिने हो भने बूढासुब्बाको भविष्य सुनिश्चित हुने थियो । त्यसतर्फ आयोजक र नगरले पनि सोच्ने हो भने पक्कै पनि धरानमा बूढासुब्बा गोल्डकप स्थायित्व हुने थियो । तर, अहिलेसम्म त्यसतर्फ बहस र छलफल नगरिएको प्रतीत हुन्छ । आयोजकले नगरले सहयोग नगरेको प्रसङ्ग बारम्बार उठाउँदै आइरहेको छ । अर्कातिर नगरले पनि यस विषयमा फरक कोणबाट व्याख्या, विश्लेषण गरेको पाइँदैन ।

धरानबाटै प्रारम्भ भएका यी खेलहरू नगरका सम्पत्ति हुन् । सार्वजनिक सम्पत्तिको सुरक्षण गर्ने जिम्मेवारी पनि स्थानीय सरकारको हो । स्थानीय सरकारको दायित्व पनि हो । एउटा सुन्दर शहर हुनका लागि भौतिक पूर्वाधार मात्रै मापक हुन सक्दैन । त्यहाँको कला, संस्कृति, भाषा, धर्म, खेलकुद, मनोरञ्जन स्थलहरूले पनि अहम् भूमिका खेल्दछन् । यी मानकहरू एउटा सुन्दर सहर हुनुको परिचय हो । नागरिक तथा सङ्घसंस्थाले पनि सरकारप्रतिको दायित्वलाई भुल्नु हुँदैन । स्वस्थ्य नगर निर्माण गर्न सरकारको जति भूमिका हुन्छ, त्यति नै भूमिका यहाँका सङ्घ–संस्था तथा नागरिकमा पनि हुन्छ । स्वस्थ्य नगर निर्माणका लागि यहाँ स्थापित भएका खेलहरूलाई नगरले जिम्मेवारी लिँदै क्लबहरूलाई थप जिम्मेवारी बनाउन आवश्यक छ । यसतर्फ नगर सरकारले ध्यान दिओस् ।