राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा आज विराटनगरको ट्राफिक चोकदेखि तीनपैनीसम्म नगरको दुवैतर्फ सफाइ गरिएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समिति मोरङका संयोजक प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा भएको सफाइ अभियानमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सुरक्षा निकायका प्रमुख, कर्मचारी एवं सर्वसाधारणको सहभागिता थियो ।

विराट नगरपालिकाको संंयोजनमा भएको उक्त सरसफाइ कार्य सञ्चालन गर्नुका साथै नगरका विभिन्न सार्वजनिकस्थलमा राष्ट्रिय झण्डासमेत फहराएको छ ।

यसैगरी आजै जिल्लास्थित विभिन्न स्थानीय पालिकाका मुख्यमुख्य क्षेत्रमा सरसफाइ गर्ने कार्य सम्पन्न भएको बताइएको छ । दिवसको उपलक्ष्यमा आजदेखि तीनदिन दीपावली गर्ने कार्यक्रम छ ।

यस्तै फागुन ७ गते बिहान प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्मचारी मिलन केन्द्र, जिल्लास्थित विभिन्न ट्रेड युनियन तथा राष्ट्रसेवक कर्मचारी, विभिन्न सङ्घ/सङ्गठनले संयुक्तरुपमा नगरमा रहेका वृद्धाश्रम, अनाथाश्रम र मानवसेवा आश्रममा रहेका ज्येष्ठ नागरिक, अशक्तलाई फलफूल वितरण गर्ने कार्यक्रम पनि छ ।

फागुन ८ गते बिहान नेपाल रेडक्रस सासाइटी मोरङ र कोशी अस्पताल विराटनगरको संयुक्त आयोजना अस्पतालमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम रहेको बताइएको छ ।