विराटनगर । प्रदेश १ मा  राष्ट्रिय सभा निर्वाचन सुरु भएको छ । प्रदेशमा राष्ट्रियसभाको तीन सिटका लागि बुधबार विहान ९ बजेपछि मतदान सुरु भएको हो ।

अहिले विराटनगर स्थित प्रदेश निर्वाचन कार्यलय र बालि संरक्षण कार्यलय भवनमा मतदान  भइरहेको छ । प्रदेश सभाका सांसद र पालिकाका प्रमुख उपप्रमुखले मतदान गर्ने क्रम जारी छ । अहिले प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो, सामाजिक विकासका मन्त्री जयराम यादबले मतदान गरिसकेका छन् ।

प्रदेशमा तीन पदका लागि हुन लागेको  राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आठ जना  चुनावी मैदानमा छन् । सत्तारूढ गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)का उम्मेदवार प्रतिस्पर्धामा छन् । नेकपा (एमाले) का तर्फबाट खुल्लातर्फ मोरङका गुरु  बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा रहेका छन् ।

यस्तै सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली काङ्ग्रेस झापाका गोपाल बस्नेत, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) बाट भोजपुरकी जयन्ती राई र अल्पसङ्ख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका भोजपुरका हेमराज राई चुनावी मैदानमा छन् ।

यस्तै राप्रपाको तर्फबाट झापाका अमर विष्टले खुल्ला र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दिएका छन् । राप्रपाले अपाङ्गता तथा अल्पसङ्ख्यकतर्फ भने उम्मेदवारी दिएको छैन । प्रदेश १ मा खुल्ला, महिला र अल्पसङ्ख्यक/अपाङ्गतर्फ तीन सदस्यका लागि निर्वाचन हुँदैछ ।

एमालेबाट निर्वाचित भएका राष्ट्रियसभा सदस्यहरू नैनकला ओझा, अगमप्रसाद बान्तवा राई र पर्शुराम मेघी गुरुङको पदावधि आगामी फागुन २० मा सकिँदैछ । रिक्त हुने स्थानको लागि निर्वाचन हुन लागेको हो ।

यस्तो छ मतभार
स्थानीय तहका अध्यक्ष/प्रमुख, उपाध्यक्ष÷उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३ सय ६४ मतदाता छन् ।

प्रदेशसभा सदस्य ९२ जना र १ सय ३७ स्थानीय तहका प्रमुख र उप्रमुख २ सय ७२ जना रहेका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकाले दुई पद रिक्त छन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार ४ हजार ४ सय १६ र २ सय ७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८ सय ९६ गरी जम्मा मतभार ९ हजार ३ सय १२ रहेको छ ।

yyyyy

wwww

vvvvv

uuuuu

tttt

sss