धनकुटा । धनकुटामा सार्वजनिक सेवा लिँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । 

कोरोनाको नयाँ भेरियन्ट फैलिँदै गएको अवस्थामा धनकुटामा नियमित लाग्दै आएका हाटबजार पनि बन्द भएका छन् । धनकुटाका सार्वजनिक संस्थानहरूबाट सेवा लिँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय धनकुटामा बुधबार बसेको कोभिड–१९ व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सार्वजनिक स्थानमा भीडभाड कम गराउनका लागि यस्तो निर्णय गरिएको जनाइएको छ । 

समितिले सार्वजनिक स्थानहरूमा प्रवेश गरेर सेवा लिन परे अनिवार्य माघ ७ गतेदेखि खोप कार्ड बोकेर हिँड्न भनेको छ । यद्यपि खोप कार्ड मोबाइलमा खिचेर आवश्यक चेकजाँच हुँदा देखाउन पनि सकिने जारी सूचनामा उल्लेख छ । जिल्लावासी आम नागरिकलाई अनिवार्य मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत हरिगोपाल कर्मचार्यद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उल्लेख छ  । 

धनकुटामा लाग्दै आएको बिहीबारे बजार, हिले बजारलगायत पनि यो साताबाट बन्द भएका छन् । स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भीडभाड नगर्न र सेवाग्राही कार्यालयहरूमा प्रवेश गर्दा अनिवार्य खोप कार्ड प्रयोग गर्न भनेपछि पनि बजार नलागेको हो । स्थानीय प्रशासन कोभिड व्यवस्थापन समितिको निर्देशन र स्वास्थ्य मापदण्डलाई पालना गर्दै बिहीबारे हटियामा सामग्रीहरू बिक्री गर्न नगएको धनपा–६ पात्लेकी मनमाया राईले बताइन् ।

कृषिउपजका वस्तुहरू जो दैनिक उपभोगका लागि आवश्यक पर्ने तरकारीलगायत खाद्यान्न बिक्रीका लागि बिहीबारे हटिया भर्न आएका टुक्रे व्यापारीहरूले कोभिड सङ्क्रमणलाई मध्यनजर गर्दै सानो–सानो समूह बनाएर धनकुटा बजारका चोक–चोकमा बिक्री गरेका छन् । उनीहरूले धनकुटा बजारको मदनचोक, चुवाबोट, परिचयमोड, भीमनारयण चोकमा स–सानो समूहमा तरकारीलगायतका दैनिक उपभोग्य सामग्रीहरू बिक्री गरेका हुन् ।

उनीहरूले स्थानीय प्रशासनले हटियामा भीडभाड नगर्न भने पछि सानो सानो समूह बनाएर दैनिक उपभोगमा आवश्यक पर्ने दाल, तरकारी, फलफूल, खाद्यान्न बिक्री गरेको बताएका छन् । तर, सामान बिक्री गर्ने व्यापारी हुन् या खरिद गर्न आएका ग्राहक हुन् एकतिहाइले भने स्वास्थ्य मापदण्डका सूचकहरू भने पालना गरेको पाइएन । सानो झुण्डमा भेला भएका साना व्यापारी हुन् या ग्राहक उनीहरूमध्ये दुईतिहाइले मात्र मास्क प्रयोग गरेको पाइएको छ ।