इनरुवा । नगर प्रमुख राजन मेहता उपर मोसो दली जन कार्वाही गर्न उक्साउन खोजेको भन्दै नेपाली काँग्रेस इनरुवा नगर कार्य समितिले दिलिपचन साह उपर कार्वाहीको माग गरेको छ । 

सामाजिक सञ्जाल मार्फत मेयर लक्षित अपमानजनक शब्द सहितको भडकाउ अभिव्यक्ति दिई सर्वसाधारणलाई उक्साउन खोजेको भन्दै काँग्रेस नगर कार्य समितिले सुनसरी प्रशासन समक्ष साहलाई पक्राउ गरी कानुनी कार्वाहीको दायरामा ल्याउन माग गरेको हो ।

नगर कार्य समितिले विज्ञप्ति मार्फत साहले सामाजिक सञ्जाल मार्फत नगर प्रमुख मेहता उपर जन कार्वाहीका नाममा सार्वजनिक अभिव्यक्तिको प्रतिकारमा उत्रने सम्मको चेतावनी दिएको छ । 

उसले विज्ञप्तिमा नगर प्रमुखलाई कालो मोसो दल्ने, जुत्ताको माला लगाउने जस्ता अपशब्द प्रयोग गरी भौतिक कार्वाही गर्ने धम्कीयुक्त सार्वजनिक अभिव्यक्ति दिइएको प्रति नगर कार्य समितिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 

अभिव्यक्ति स्वतन्त्रताका नाममा साहले सामाजिक सञ्जालको दुरुपयोग गर्दै सार्वजनिक रुपमा अपमानजनक र भडकाउ अभिव्यक्ति दिएको ठहर गरेको इनरुवा नगर काँग्रेसले सार्वजनिक पद धारण गरेको व्यक्ति उपर साहको अभिव्यक्तिलाई आपत्तिजनक र आपराधिक प्रवृतिको संज्ञा दिएको छ । 

सचिव राकेश निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ “नेपाली काँग्रेस वाक स्वतन्त्रताको सम्मान गर्ने दल भएपनि आपराधिक चरित्रका हरेक व्यक्तिको सशक्त प्रतिरोध र प्रतिकार गर्न सक्षम छ । तसर्थः आगामी दिनमा यस्ता आपराधिक चरित्रका व्यक्ति लक्षित हुनसक्ने कार्वाही प्रति सजग रहन चेतावनी समेत दिन चाहन्छौं ।”

विज्ञप्ति मार्फत नगर काँग्रेसले साह उपर आफु निकट जनता समाजवादी पार्टी रिझाउन मेयर लक्षित टिका टिप्पणी र भडकाउ अभिव्यक्ति दिदै आएको जनाएको छ । इनरुवा नगर कार्य समितिले यस अघि समेत साहको सार्वजनिक अभिव्यक्तिको विषयलाई लिएर खेद प्रकट गरिसकेको छ । 

इनरुवा अस्पताल सुधार संघर्ष समितिको अगुवाई गर्दै आएका साहले आन्दोलनका कार्यक्रममा भाषणको क्रममा मेयर राजन मेहता प्रति टिका टिप्पणी गर्दै आएका छन ।  

पछिल्लो पटक बिहीवार बेलुकी समेत साहले आफ्नो फेसबुक पेज मार्फत सार्वजनिक रुपमा मेयर मेहतालाई भ्रष्टचारी भन्दै जन कार्वाही आवश्यक रहेको स्टाटस सेयर गरेका थिए । 

उनले आफ्नो फेसबुकमा लेखेको स्टाटसको व्यहोरामा इनरुवाका भ्रष्टाचारी मेयर राजन मेहतालाई जन कार्वाही आवश्यक,(कालोमोसो र जुत्ताको माला लगाई बजार घुमाउनु पर्ने ) भनी लेखिएको छ ।  नगर काँग्रेसले सोही स्टाटसलाई आधार मानी विज्ञप्ति मार्फत साह उपर कार्वाहीको माग गरेको हो ।