इनरुवा । राजस्व अनुसन्धान कार्यालय इटहरीले पछिल्लो १० दिनको अवधिमा १० हजार ६ सय ५० किलो चिनी बरामद गरेको छ ।
राजस्व अनुसन्धान कार्यालय इटहरीका सूचना तथा अनुसन्धान अधिकृत शिवकुमार निरौलाका अनुसार जिल्लाका विभिन्न स्थानबाट सो परिमाणको चिनी बरामद भएको हो ।
पछिल्लो १० दिनको अवधिमा २ सय १३ बोरा चिनी बरामद गरिएको बताएका निरौलाले विशेषगरी सीमावर्ती क्षेत्रको नेपाली बजारबाट भन्सार छलीका सरसामान बरामद हुने गरेको बताए । उनका अनुसार पछिल्लो समय सुनसरीको लौकही नाका आसपासको क्षेत्रबाट सबैभन्दा बढी चिनी बरामद हुँदै आएको छ ।
चिनीका साथै अन्य खाद्यान्नसमेत सो क्षेत्रमै बढी बरामद हुने गरेको उनले बताए । निरौलाले सीमावर्ती क्षेत्रका नेपाली बजारमा स–सानो परिमाणमा भारतबाट चिनीलगायतका सामान ल्याई भण्डारण गरी बिक्री गर्ने गरेको पाइएको बताए । उनले राजश्वको टोलीले केही महिनाअघिसमेत लौकही क्षेत्रबाटै ठूलो परिमाणमा भन्सार छलीको चिनी बरामद गरेको बताए ।
राजस्व अनुसन्धान कार्यालय इटहरीले दिएको जानकारी अनुसार प्राप्त सूचनाका आधारमा टोलीले छापामारी गर्दै आएको छ । सो क्रममा स्थानीयका घर, पसल र गोदामलाई भन्सार छलीका सरसामान लुकाउने थलो बनाउने गरेको पाइएको सूचना अधिकृत निरौलाले बताए ।
कार्यालयका अनुसार पछिल्लो पटक टोलीले कोसी गाउँपालिका वडानम्बर २ स्थित विन्देश्वर साहको घरबाट ३३ बोरा चिनी बरामद गरेको छ । त्यसैगरी लौकही–मधुवन खण्डमा सिटी सफारीमा लोड गरी ल्याउँदै गरेको १२ बोरा चिनी बरामद भएको कार्यालयले जनाएको छ ।
अनुसन्धान अधिकृत निरौलाका अनुसार इटहरी–इनरुवालगायत जिल्लाको पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनबाट समेत भन्सार छलीको चिनीलगायतका सामान बरामद हुने क्रम बढेको छ । सो क्रममा ३ हजार केजी चिनी बरामद गरिएको उनले बताए ।
गाडीमा लुकाएर भन्सार छलीका सामान एक स्थानबाट अर्को स्थान लैजाने गरेको पाइएकाले त्यसतर्फ समेत निगरानी थालिएको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ ।