विराटनगर । सप्तकोसी डेभलपमेन्ट बैङ्कको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरेको अभियोगमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवीन सुवेदीसहित थप तीनजना कर्मचारी पक्राउ परेका छन् ।

मोरङ प्रहरीले बुधबार सिइओ सुवेदीसहित बैङ्कका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई बुधबार साँझ बैङ्कबाटै पक्राउ गरेको हो ।

प्रहरीले यसअघि बैङ्कका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरिसकेको छ । पक्राउ परेका चारै जनालाई मोरङ प्रहरीले शुक्रबार उच्च अदालत विराटनगरमा बैङ्किङ कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गर्ने भएको छ । बिहीबार सरकारी बिदा भएकोले प्रहरीले शुक्रबार म्याद थप गर्ने तयारी गरेको हो ।

बैङ्कबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् । धनकुटा प्रधान कार्यालय भएको सप्तकोसी डेभलपमेन्ट बैङ्कको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना भएको खुलेको थियो ।

यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैङ्क बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश रकम ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिइओलगायतका उच्च अधिकारीहरू शङ्काको घेरामा परेको भन्दै प्रहरीले उनीसहित थप तीन जनालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएकामध्ये सिइओ सुवेदी र लेखा प्रमुख भण्डारीले नेरुडे लघुवित्त कम्पनीमा सँगै लामो समय काम गरेका थिए । सप्तकोसीमा उनीहरू आएपछि बैङ्कको अनियमिता गर्न कानूनी, नीति, नियम र प्रक्रिया विधि मिलाउन भण्डारी ‘आइडिया मेकिङ’ को रूपमा सिइओ सुवेदीका विश्वासिलो पात्र हुन् ।

बैङ्कका कर्जा प्रमुख विदुर पोखरेल र आइटी प्रमुख सशाङ्क पोखरेल सिइओ सुवेदीका मामाका छोरा हुन् । अपरेसन प्रमुख अमित थापा मगर पक्राउ परेका भट्टराईका साथी हुन् । मगरको खातामा पनि सन २०१६ देखि २०१७ मा दुईवटा ‘फर्जी’ कारोबार भएको राष्ट्र बैङ्कमा परेको उजुरी पत्रमा उल्लेख छ । बैङ्कको आन्तरिक लेखा परीक्षण गर्ने फर्म पनि सिइओ सुवेदीले नातामा सालो पर्नेलाई लगाउने गरेका थिए ।

बैङ्कको रेमिट शाखाबाट भएको यो हिनामिनामा  बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैङ्कमा परेको उजुरीमा उल्लेख छ । बबिता सिइओ नवीन सुवेदीकी नातेदार हुन् । उजुरीका अनुसार  सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैङ्कको खाता नं. ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढङ्गबाट निकालिएको छ ।

बबिताको नाममा फर्जी खाता सिइओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । रेमिट शाखाका प्रमुख भट्टराई पनि सिइओ सुवेदीका नातेदार हुन् । भट्टराई उनका फुपूका छोरा हुन् ।

हिनामिना भएको रकममध्ये धेरै बबिताको खातामा र  हिमाल भट्टराईको विभिन्न पाँच वटा बैङ्कको खातामा एक करोड रुपैयाँ जम्मा भएको राष्ट्र बैङ्कमा परेको उजुरीमा उल्लेख छ । यसैगरी सिइओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल, जेठी सासू बानी पोखरेललगायतको खातामा रकम पठाएको दाबी उजुरीमा गरिएको छ ।

‘उक्त खाता पनि अरू नै व्यक्तिबाट सञ्चालन गरी कारोबार भएकोले सूक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ’–उजुरीमा भनिएको छ । पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठूलो रकम हिनामिना भएको हो । यही प्रकरणमा बैङ्कको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर यसबारे अनुसन्धान गरिरहेको छ । 

प्रदेश १ का ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोसी बैङ्कको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैङ्क र सप्तकोसी डेभलपमेन्ट बैङ्क मर्जरमा गएर हाल सप्तकोसी डेभलपमेन्ट बैङ्क लि. नामबाट वित्तीय कारोबार गरिरहेको यो बैङ्क नेपाल राष्ट्र बैङ्कबाट इजाजतप्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । बैङ्कका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताउँदै आएका छन् ।