नेपाल र भारत दुवै देशको पर्यटन प्रवद्र्धनका साझा पर्यटनसम्बन्धी कार्ययोजना बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

दुुई देशबीच सांस्कृतिक तथा धार्मिक समानता हुनका साथै सदिऔँदेखिको नजिकको सम्बन्ध रहेकाले पनि साझेदारीमा प्रवद्र्धन अघि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने उनीहरुको धारणा छ । एसोसिएसन अफ बुद्धिष्ट टुर अपरेटर (अब्टो) भारतले बोधगयामा आयोजना गरेको तीन दिवसीय चौथो अब्टो अन्तर्राष्ट्रिय कन्भेन्सनमा बोल्ने वक्ताहरले सो कुरामा जोड दिएका हुन् । 

सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट तथा बौद्ध धर्मको दुई हजार ५६६ वर्ष र यसको सान्दर्भिकता विषयक छलफल पनि आयोजना गरिएको छ ।

सम्मेलनको उद्घाटन गर्दै भारत दिल्लीका महिला बालबालिका, अल्पसङ्ख्यक तथा समाज कल्याणमन्त्री राजेन्द्रपाल गौतमले नेपाल भारतबीच पर्यटनको अथाह सम्भावना रहेकाले यसलाई आपसी सहकार्यमा अघि बढाउनुपर्ने बताए । उनले बुद्धसँग सम्बन्धित विषयहरु नेपाल र भारत दुवै देशसँग जोडिएकाले पनि धार्मिक पर्यटनका लागि आपसी सहकार्य आवश्यक भएको र यसबाट दुवै देशको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने धारणा राख्नुभएको नेपाल पर्यटन बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

बोर्डका निर्देशक मणिराज लामिछानेले बुद्धजन्मस्थल नेपालमा रहेको र त्यसपछिका स्थानहरु भारतमा रहेकाले सहकार्य गरेर काम गर्न सकेमा धार्मिक पर्यटनलाई अगाडि बढाउन सकिने बताए । उनले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा रहेकाले उक्त विमानस्थल सञ्चालमा आएपछि बुद्धसँग सम्बन्धित धार्मिक पर्यटन बढ्ने अपेक्षा गरे ।

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाटा)का अध्यक्ष अच्युत गुरागाईंले बुद्धसँग सम्बन्धित रहेर काम गर्ने गरी नेपालले समेत आउने मार्चमा लुम्बिनीमा बुद्धिष्ट टार्वल मार्ट आयोजना गर्न लागिएको जानकारी दिए । उनले बुद्ध नेपालमा जन्मेको प्रमाण हुँदाहुँदै बुद्धजन्मस्थलबारे बेलाबेलामा हुने भ्रम चिर्न र पर्यटकलाई सही जानकारी दिन भारतीय टुर अपरेटर तथा सरोकारवालालाई आग्रह गरे ।

यस्तै ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल टानका महासचिव सरिता लामाले नेपाल भारतबीच बुद्ध धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेकाले यसबाट दुई देशले फाइदा लिने गरी मिलेर काम गर्न आग्रह गरे । 

होटल सङ्घ नेपाल ९हान० का केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले बुद्धजन्मस्थल लुम्बिनी र भारतमा रहेका बुद्धसाइटहरुलाई समेटेर बुद्ध सर्किट बनाएर विश्व समुदायमा यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा कलकत्ता पर्यटनका एसिस्टेन्ट डाइरेक्टर बिबी मुखर्जी,बिर्गेडियर जनरल वीरेन्द्र सिंह, भारतीय रेलवेका रजिष्ट्रार अस्मिता सिंह लगायतले नेपाल भारत बीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा जोड दिन सुझाब दिए । मङ्सिर २४ देखि २६ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नाका साथै बी टू बी सेसन पनि आयोजना गरिने अब्टोका महासचिव डा कौलेश कुमारले जानकारी दिए।