धरान । मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको व्यवस्थापन सङ्काय विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

कम्प्युटर ल्यावको व्यवस्था नगरिएको भन्दै बीबीएमका विद्यार्थीहरूले तोडफोड गरेका हुन् । परीक्षा नजिकिँदै जाँदा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेको भन्दै आक्रोसित विद्यार्थीको भीडले तोडफोड गरेका थिए ।

हाल व्यवस्थापन सङ्कायमा ८ वटा मात्रै कम्प्युटर रहेका छन् । विद्यार्थीहरूले पटक–पटक क्याम्पस प्रशासनलाई कम्प्युटर ल्यावको व्यवस्था गर्नका लागि निवेदन दिएका थिए । तर, क्याम्पस प्रशासनले सुनुवाइ नगरेको भन्दै बुधबार क्याम्पसको कुर्सी, टेबल र ढोका तोडफोड गरेका थिए ।

क्याम्पस प्रशासनले मागअनुसार समस्या समाधान नगरिएकाले तोडफोडमा उत्रिनु परेको उनीहरूले बताएका छन् । विद्यार्थीको समूहले क्याम्पसको प्रमुख प्रवेशद्वारमा समेत तालाबन्दी गरेको थियो । तालाबन्दीका कारण पठन–पाठन प्रभावित बनेको थियो । उक्त तालाबन्दी बीबीएस तेस्रो वर्षका विद्यार्थीहरूले खोलेका थिए ।

अध्यापकहरूले त्यस्तो वातावरणमा पढाउन नसक्ने भनेपश्चात् अन्य सङ्कायका विद्यार्थीहरूले तालाबन्दी खोलेका थिए । महेन्द्र मोरङ क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले विद्यार्थीहरूको माग सम्बोधन गरेर अगाडि बढ्ने बताए ।

‘ल्याव थोरै, विद्यार्थी धेरै हँुदा समस्या आएको हो’ उनले भने, ‘ल्यावमा उपकरण थप गरी विस्तार गर्ने तयारी गरिएको छ । त्यसपछि विद्यार्थीको माग पनि पूरा हुनेछ ।’ अहिले क्याम्पसमा तीनवटा ल्यावमा १० वटा कम्प्युटर छन् भने विद्यार्थी ८ हजार रहेका छन् ।