धनकुटा ।  धनकुटाको सिधुवामा रहेको शुलभ बचत तथा ऋण सहकारीले आफ्नो लगानी बढाएर १२ करोड पुर्‍याएको जनाएको छ ।

सुलभ बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १८ औँ वार्षिक साधारण सभा आयोजना गरेर आफ्नो शेयर सदस्यहरूलाई यस्तो जानकारी गराएको हो । गत वर्ष ९ करोड, २५ लाख, ४९ हजार, ९ सय ८ लगानी गरेको सो संस्थाले शनिबार साधारण सभा गरेर १२ करोड, ८१ हजार, ९ सय १७ रुपैयाँ ऋण लगानी गरेको जानकारी दिएको छ । असुली भने ९ करोड, ७३ लाख, ७५ हजार, १ सय ५८ रुपैयाँ रहेको बताइएको छ ।

कार्यक्रममा संस्थाका व्यवस्थापक नीरा अधिकारीले आव ०७७/०७८ मा १६ करोड कारोबार र निक्षेप चुक्ता पुँजी ९ करोड बराबरको भएको जानकारी दिए । उनले संस्थाको शेयर रकम २ करोड, २७ लाख, ४४ हजार, ४ सय रहेको बताइन ।  व्यवस्थापक अधिकारीले संस्थाको शेयर सदस्यको कुनै कारणले मृत्यु भएमा संस्थाको तर्फबाट सदस्य सुरक्षण कोषबाट ४१ हजार आर्थिक सहयोग गर्ने पनि यो वर्ष देखी व्यवस्था गरिएको बताइन ।

संस्थाले शेयर सदस्यहरूलाई शेयर बोनस बापत ८ प्रतिशत, कारोबार बोनस ३५ प्रतिसतसम्म दिने गरेकोमा यो वर्ष देखी २५ प्रतिशत मात्र दिने व्यवस्था गरिएको जनाइएको छ । त्यसै गरी शेयर सदस्यहरूलाई व्यापार कर्जामा ११.७५ प्रतिशत, कृषि, पशुमा ९ प्रतिशत र गाडी खरिदमा ११.७५ प्रतिशत ब्याजदर कायम  गरिएको छ । 

संस्थाका अध्यक्ष मेघेन्द्र गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेर बहादुर लिम्बु, जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदी, स्थानीय विभिन्न बैक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनीधिहरुले संस्थालाई सफलताको शुभकामना दिएका थिए ।