विजयपुर । बर्जु गाउँपालिकाका पदाधिकारीहरूले ऐनविपरीत भ्रमण खर्च लिएको महालेखा परीक्षकको प्रतिवेदनले उजागर गरेको छ । त्यस्तै पदाधिकारीले बैठक नै नबसी भत्ता लिएको पनि खुलेको छ ।

गाउँपालिकाका वडाध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरूले ऐन विपरीत भ्रमण खर्च लिएको महालेखाको प्रतिवेदन २०७८ ले देखाएको छ । पदाधिकारहरूले भ्रमण खर्च बापत  कुल १८ लाख ९६ हजार रुपैयाँ लिएका छन् । वडाध्यक्ष ६ जनाले प्रतिव्यक्ति ९ हजार रुपैयाँका दरले १२ महिनाको ६ लाख ४८ हजार रुपैयाँ बुझेका छन् ।

कार्यपालिका सदस्यहरू ६ जनाले प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले १२ महिनाको २ लाख ८८ हजार रुपैयाँ लिएको देखिन्छ । वडासदस्यहरू २० जनाले प्रतिव्यक्ति ४ हजारका दरले १२ महिनाको कुल ९ लाख ६० हजार रुपैयाँ लिएको प्रतिवेदनमा उल्लेख छ । उनीहरूले गाउँसभाका सदस्यहरूको सुविधासम्बन्धी ऐनमा व्यवस्था भएभन्दा बढी भ्रमण खर्च लिएका हुन् ।

गाउँपालिकाका पदाधिकारीले कार्यालयीय सवारी साधन प्रयोग गर्दा लगसिटमा नगएको दिनको पनि बिल भर्पाइ लिएको पाइएको छ । जसमा थप २ लाख १० हजार रुपैयाँ यातायात खर्च लिएका छन् ।

गाउँ तथा नगरसभाका सदस्यहरूको सुविधासम्बन्धी ऐन २०७५ दफा ३ को अनुसूची १ अनुसार गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यलाई सवारी साधन उपलब्ध नभएमा क्रमशः १० हजार, १० हजार, ४ हजार २ हजार ५ सय रुपैयाँ नगद पाउने व्यवस्था छ ।

तर, पदाधिकारीले ऐनविपरीत उक्त रकम लिएका हुन् । गाउँपालिकाका पदाधिकारीले पोसाक खर्च बापत कुल ५ लाख १० हजार रुपैयाँ लिएका छन् ।

१ नं. प्रदेशअन्तर्गत स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ (पहिलो संशोधनसमेत) को दफा ३ (क) १ मा स्थानीय तहका पदाधिकारीहरूले अनुसूची १ मा उल्लेख भएको सुविधा मात्रै पाउने उल्लेख छ । तर, पदाधिकारीले ५ लाख १० हजार रुपैयाँ ऐन विपरीत पोसाक खर्च लिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।

ऐनविपरीत पोसाक खर्च लिनेहरूमा प्रमुख रघुनन्दन चौधरीले १५  हजार, उपप्रमुख सङ्गीताकुमारी रायले १५ हजार, वडाध्यक्षहरू ६ जनाले ९० हजार रुपैयाँ, कार्यपालिका सदस्यहरू ६ जनाले ९० हजार र वडासदस्यहरू २० जनाले ३ लाख रुपैयाँ पोसाक खर्च बुझेका छन् । गाउँपालिकाका वडाध्यक्ष कार्यपालिका सदस्य र वडासदस्यहरूले कुल ४ लाख रुपैया उपचार खर्च लिएका छन् ।

वडाध्यक्षहरू ६ जनाले १८ हजारका दरले १ लाख ८ हजार रुपैया बुझेका छन् । कार्यपालिका सदस्यहरू ६ जनाले १२ हजार रूपैयाँका दरले ७२ हजार रूपैयाँ बुझेका छन् । वडासदस्यहरू २०  जनाले ११ हजारका दरले २ लाख २० हजार रूपैयाँ उपचार खर्च बुझेका छन् ।

गाउँपालिकाका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य र वडासदस्यहरूले बैठक नै नबसी कुल ९ लाख ५३ हजार ७ सय रूपैया बुझेका छन् । गाउँपालिका प्रमुखले ३३ वटा बैठकको २८ हजार ५० रूपैयाँ बैठक नबसेको भत्ता बुझेका छन् । उपप्रमुखले ३३ वटा बैठक नबसेको २८ हजार ५० रूपैयाँ  बुझेकी छन् । वडाध्यक्ष ६ जनाले १ लाख ६८ हजार ३ सय रूपैयाँ बैठक नबसेको भत्ता बुझेका छन् ।

कार्यपालिका सदस्यहरू ६ जनाले ३३ वटा बैठक नबसेको भत्ता १ लाख ६८ हजार ३ सय रूपैयाँ बुझेका छन् । वडासदस्यहरू २० जनाले ५ लाख ६१ हजार रूपैयाँ गरी कुल ९ लाख ५३ हजार ७ सय रूपैयाँ बैठक नबसेको भत्ता बुझेका छन् । गाउँपालिकाका विभिन्न विद्यालयलाई दिवा खाजा कार्यक्रममा उपस्थित नभएका विद्यार्थीलाई खाजा दिएको भनी कुल ४३ लाख ६ हजार ५ सय ४५ रूपैयाँ महालेखाले बेरुजु देखाएको छ । पदाधिकारी कुल ४३ हजार ३ सय ५० रूपैयाँ थप अनुगमन भत्ता लिएको छ ।