मधुमल्ला। सरकारले तोकेको न्यूनतम् तलब पनि नपाएको भन्दै मोरङको मिक्लाजुङ गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्यापनरत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरू आन्दोलित बनेका छन् ।

नेपाल सरकारले सङ्घीय बजेटमार्फत् व्यवस्था गरेको न्यूनतम् तलब १५ हजार नपाएको भन्दै सोमबारबाट ६ सूत्रीय माग राख्दै आन्दोलित बनेका हुन् ।

सोमबार मिक्लाजुङका सबै सामुदायिक विद्यालयमा हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । सरकारले तोकेको न्यूनतम् तलब पाउनुपर्ने भगवती माविका प्रधानाध्यापक प्रेमप्रकाश कोइरालाले बताए ।

गत कात्तिक १७ गते नै सङ्घीय सरकारले तोकेबमोजिमको न्यूनतम् तलब उपलब्ध गराउन माग गर्दै मिक्लाजुङ गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । तर, आफूहरूको जायज मागलाई गाउँपालिकाले सुनुवाइ नगरेकाले चरणबद्ध आन्दोलनमा उत्रिनु परेको बालविकास सहजकर्ता कमला धमलाले बताइन् । उनीहरूले चरणबद्ध रूपमा आन्दोलन घोषणा गरेका छन् ।

कात्तिक २९ र ३० गते हातमा कालो पट्टी बाँधेर विरोध जनाउने, मङ्सिर १ र २ गते विद्यालयका विद्यालय व्यवस्थापन समितिसँग अन्तरक्रिया, मङ्सिर ५ र ६ गते बिहान १०–११ बजेसम्म मिक्लाजुङ गाउँपालिकामा धर्ना, मङ्सिर ९ गते मिक्लाजुङ क्षेत्रका सम्पूर्ण सामुदायिक विद्यालयहरू बन्द गरिने कार्यक्रम घोषणा गरिएको विद्यालय कर्मचारी विनोद लिङ्देनले बताए ।

यता मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले स्रोत अभावका कारण बालविकास कर्मचारी र विद्यालय कर्मचारीको माग पूरा गर्न नसकिएको बताए ।