धनकुटा । धनकुटालाई चित्रकारिताको माध्यमाबाट चिनाउने उद्देश्यले आयोजना गरिएको २ दिन स्थलगत चित्रकला कार्यशाला आइतबार सम्पन्न भएको छ । 
'रङ्गमा मेरो धनकुटा, घुम्न आउँ धनकुटा–२' भन्ने मूल नाराको साथ आयोजना गरिएको २ दिने जल रङ्ग कार्यशालामा मुलुकभरबाट २६ जना चित्रकारहरू सहभागी भएका थिए ।

वाटरकलर चित्रकारिताको माध्यमाबाट धनकुटाका पर्यटकीय स्थलहरूको प्रवर्द्धन र धनकुटालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यशालामा इन्टरनेशनल वाटरकलर सोसाइटी नेपालका अध्यक्ष एनबी गुरुङ, महासचिव दिपेन्द्रमान वनेपाली, सदस्य डिवी राई, अन्तर्राष्ट्रिय जल रङ्ग समाज प्रदेश नं.१ का सदस्य महेन्द्र राई, देही आर्ट काँकडभित्ता झापाका छेतेन शेर्पा, सखी आर्ट बेलबारी मोरङका संयोजक गणेश लामा, ललितकला संगम विराटनगरका जेपी चौधरी, धनकुटाका डिल्लीकृष्ण आले लगायतका गरी २६ जना चित्रकारहरू सहभागी  थिए ।
उनीहरूले धनकुटाका विभिन्न मठ मन्दिर, धनकुटा बजार, धनकुटाका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई क्यानभासमा उतारेका थिए । 

अन्ताराष्ट्रिय जल रङ्ग समाजमा आबद्ध चित्रकारहरूबाट धनकुटालाई क्यानभासमा उतार्ने काम सम्पन्न भएको हाम्रो बहुमुखी पाठशाला धनकुटाका चित्रकला विभागका संयोजक डिल्ली कृष्ण आलेले ब्लाष्टलाई जानकारी दिए । 

 दुई दिनसम्म धनकुटाका विभिन्न ठाउँलाई क्यानभासमा उतार्ने काम सकिएपछि आइतबार धनकुटाको मदन चोकमा चित्रहरूलाई प्रदर्शनीमा राखिएको थियो । धनकुटा नगरपालिकाको १ लाख रुपैयाँ आर्थिक सहयोगमा हाम्रो बहुमुखी पाठशाला धनकुटाले २ दिने कार्यशालाको आयोजना गरेको थियो ।

हरेक वर्ष  चित्रकार धनकुटाका वरिष्ठ चित्रकार डिल्लीकृष्ण आलेको संयोजन र वहुमुखी पाठशाला धनकुटाको आयोजनमा चित्रकला कार्यशाला हुँदै आएको पाठशालाका अध्यक्ष सरोज भुजेलले ब्लाष्टलाई बताए । वाटरकलर कार्यशालाको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले एक समारोहका बिच क्यानभासमा चित्र उतारेर समुद्घाटन गरेका थिए ।