धनकुटा । धनकुटाको पाख्रिवासमा ट्याक्टर दुर्घटना हुँदा शनिबार सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

धनकुटाको पाख्रिवास बजारबाट पाख्रिवास नगरपालिका ८ सुनबालुवातर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको ट्याक्टर पाख्रिवास नगरपालिका ८ लुम्पुवामा दिउँसोतिर दुर्घटना भएको हो । पाख्रिवास मुगा सडकखण्डमा पर्ने लुम्पुवामा भएको दुर्घटनामा परी ट्याक्टरका सहचालक पाख्रिवास नगरपालिका ७ का २४ वर्षीय टेकबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक तामाङको शवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । ट्याक्टरको इञ्जिनको भाग सडकको बीचमा पल्टिएर दुर्घटना भएको हो । ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए ।

ट्याक्टरका सहचालकको मृत्यु भएको थाहा पाएपछि पनि चालक नदेखिएकाले कसले ट्याक्टर चलाएको थियो भन्ने खुल्न सकेको छैन । त्यस विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको एसपी पोख्रेलले जानकारी दिए ।