विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ५ हात्तीमुडा लिची बगैँचा टोलका १४ वर्षीय निश्चल रायको अपहरणपछि यातना दिएर हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग राखेका छन् । सोमबार अर्थात् कार्तिक २२ गते घरदेखि पाँच सय मिटर दक्षिण लिची बगैँचादेखि हराएको निश्चलको शव तीन दिनपछि बुधबार बिहान घरदेखि एक किलोमिटर पूर्वमा रहेको सिंघिया खोलामा मृत अवस्थामा शव भेटिएको थियो । 

शवको प्रकृति हेर्दा छोराको शरीर भरी चोटपटक लागेकोले अपहरणपछि यातना दिएर हत्या गरेको हुनसक्ने भन्दै मृतकका परिवारले  घटनाको गहन अनुसन्धान गरी दोषीलाई सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका हुन् ।

मृतकका बुबा उपेन्द्र रायले छारोको तिग्रामा डोरीले बाधेको डाम, घाँटीमा जुत्ताले कुटेको डाम, ओढ र गालामा पनि चोटपटक र नाइटोमा इन्जेक्सन लगाएकोले छोराको भबितब्य दुर्घटना नभए सुनियोजित तरिकाले हत्या भएको दाबी गरेका छन् । ‘छोराको हत्या भएको हो । तर, अहिले पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको पार्न खोजिएको छ,’ उनले भने, ‘घटनाको गहन अनुसन्धान हुनुपर्दछ र सत्य तथ्य बाहिर ल्याउनुपर्ने हामीले बारम्बार भन्दै आएका छौँ ।’ यद्यपि घटना भएको यत्तिका दिन भइसक्दा पनि प्रहरीले कुनै प्रगति पीडित परिवारलाई दिन नसकेको उनले बताए । 


मृतकका बाबु उपेन्द्र माओवादी केन्द्रका प्रदेश १ सदस्य तथा मजदुर सङ्गठनका नेता

हुन् । राजनैतिक प्रतिसोध साध्न र पारिवारिक रिसिइबिको कारणले पनि सन्तानको हत्या गरेको हुनसक्ने भएकोले प्रहरी प्रशासनले सबै कोणले अनुसन्धान गरिनुपर्ने उनले बताए । ‘कहीँ हत्यारो पत्ता लाग्दैन कि भन्ने आशङ्का छ, हत्यारो जो छ तत्काल सार्वजनिक गर्नुपर्‍यो,’ उनी भन्छन्, ‘केही आफन्त पर्नेसँग जग्गा जमिनको सामान्य विवाद थियो, त्यही कारणले नै मेरो छोराको हत्या भएको हो भन्ने त लाग्दैन, तर अनुसन्धान त्यतातिर पनि सोझ्याउनु आवश्यक छ ।’ अल्पायुमै छोरोका निर्मम हत्या भएकोमा उनी मर्माहत छन् । ‘छोराको हत्या भएपछि अहिले गाउँमा सन्त्रास छाएको छ,’ उनले भने, ‘यत्रो घटना घट्दा पनि प्रहरी अहिलेसम्म गाउँमा आएर अनुसन्धान सुरु गरेको छैन ।’ यस्तो जघन्य अपराध हुँदा पनि प्रहरीले घटना गम्भीरता पूर्वक लिएर अनुसन्धान नगरेको मृतक परिवारको गुनासो रहेको छ । 

छाेरो हराएको विषयमा प्रहरीले जानकारी गराउँदा पनि समयै खोजविनामा सहयोग नगर्दा अहिले छोराको शव देख्नुपरेको उनको भनाई छ । 


मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले यस घटनामा प्रहरीले गम्भिर ढङ्गले प्रहरीले अनुसन्धान गर्दै आएको बताए । ‘अहिले घटनास्थल र गाउँमा सादा पोसाकका प्रहरी पनि प्रहरी परिचाल गरी सोधपुछ र अनुसन्धान गर्ने काम भइरहेको छ,’ उनले भने, ‘हामीले गम्भीर ढङ्गले नै अनुसन्धानमा जुटेका छौँ । घटनालाई अझै हामीले सूक्ष्म रूपले हेरिरहेका छौँ ।’  मृतकको पोस्माटर्मको रिपोर्ट पनि आउन बाँकी रहेकोले रिपोर्ट आएपछि धेरै विषय खुल्ने प्रहरीले जनाएको छ । कोशी अस्पतालबाट पोस्मार्टम रिपोट आउन एक हप्ता लाग्ने बुझिएको छ ।