सङ्खुवासभा । सङ्खुवासभाको चिचिला गाउँपालिकास्थित मत्स्यपोखरीमा एकैसाथ चारवटा कार्यक्रम गरिँदै छ ।

मत्स्यपोखरीमा निर्मित मूर्तिहरूको ७ दिने प्राण प्रतिष्ठा गरिन लागिएको हो । अन्तिम दिन साहित्यिक महोत्सव, दाता सम्मान र मेलाको आयोजना गरिँदै छ । त्यहाँ बसाहा, शिवलिङ्ग र गौतम बुद्धको मूर्ति निर्माण गरिएको छ । प्राण प्रतिष्ठा गर्न ५ जना पुरोहितहरू ७ दिनसम्म निरन्तर खटिने गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शुक्रदेवी राईले बताइन् ।

योसँगै मकालु साहित्य समाजसँगको समन्वयमा आगामी मङ्सिर ३ गते पूर्णिमाको दिन साहित्यिक तथा सांस्कृतिक कार्यक्रम र अन्य विविध कार्यक्रम गरिने उनले बताइन् । सोही दिन सामुदायिक विद्यालयका जग्गादाताहरूलाई सम्मान गर्ने र पत्रकार सम्मेलनमार्फत् जानकारी दिइयो ।

भगवान्को पहिलो अवतार भएको मत्स्यपोखरीलाई घुम्टोभित्रकी सुन्दरी नारा दिएर त्यहाँको प्रचार–प्रसारमा जोड दिन लागिएको हो । जैविक विविधताको धनी चिचिला गाउँपालिकाको केन्द्र भागमा अवस्थित मत्स्यपोखरीसम्म सवारी साधनहरू पुग्न सक्छन् । त्यहाँ बिजुली बत्तीको समेत व्यवस्था छ ।

खाँदबारीबाट एकदिने भ्रमणमा निस्कन सहज हुने मत्स्यपोखरीको पर्यटन प्रवद्र्धन गर्नुपर्नेे साहित्यकार ताराबहादुर बुढाथोकीको भनाइ छ । मत्स्यपोखरी मेलामा त्यस क्षेत्रमा मात्र उत्पादन हुने पानीमकै र त्यसका परिकारहरूको स्वाद चखाउने कार्यक्रमसमेत राखिएको पालिका अध्यक्ष पाशाङ नुर्वु शेर्पाले बताए ।

पोखरीनजिकै हरेक वर्ष मङ्सिरे पूर्णिमा, माघे सङ्क्रान्ति र शिवरात्रिमा मेला लाग्दै आएको छ ।