विराटनगर । तीन दिनदेखि हराएका मोरङको बूढीगङ्गा गाउँपालिका–५ हात्तीमुडा लिचीबगैंचा टोलका एक बालकको शव फेला परेको छ ।

१४ वर्षीय निश्चल रायको शव बुधबार बिहान घरदेखि पूर्वपट्टि करिब एक किलोमिटर टाढा रहेको सिङ्घीया खोलामा फेला परेको हो ।
नेकपा (माओवादी केन्द्र) का नेता उपेन्द्र रायका छोरा निश्चल कात्तिक २२ गते करिब ३ बजेतिर हराएका थिए । हराएको तीन दिनपछि उनको शव चोटपटक लागेको अवस्थामा भेटिएको छ । निश्चलको घाँटीमा जुत्ताको डाम र शरीरमा चोटपटक लागेको अवस्थामा शव भेटिएको मृतकका बाबु उपेन्द्र रायले जानकारी दिए ।

छोराको सुनियोजित तरिकाले हत्या भएकोले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘छोरालाई यातना दिएर हत्या गरिएको छ ।शरीरभरि निलडाम रहेकोले पनि छोराको हत्या भएको हो’ उनले भने, ‘प्रहरी प्रशासनले सूक्ष्म रूपमा छानबिन गरी दोषीलाई सार्वजनिक गरी कारबाहीको दायरामा ल्याउन हामीले माग गरेका छौं ।’

मृतक बालकले लगाएको कपडा पनि खोलिएको छ । कपडा शवनजिकै भेटिएको प्रहरीले जनाएको छ । छोरा हराएको दिन प्रहरीलाई लिखित रूपमा जानकारी गराउँदा पनि प्रहरीले सक्रियता देखाउन नसक्दा यस्तो घटना घटेको उनको भनाइ छ ।

‘२२ कात्तिकमा साँझसम्म छोरा नभेटेपछि हामीले हुलियासहित प्रहरी कार्यालयमा खोजतलासको लागि जानकारी गराएका थियौं । तर, प्रहरीले गम्भीरतापूर्वक नलिँदा छोराको हत्या भएको अवस्थामा शव देख्नुपरेको छ’–उनले भने ।

उपेन्द्रका एक छोरा र छोरी रहेका छन् । मृतकको शव पोष्टमार्टमको लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । बालकको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको उनले बताए । ‘

तीन दिनदेखि हराएको बालक मृत अवस्थामा फेला परेको छ’ उनले भने, ‘घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।’ थप विषय पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने उनले बताए । हत्या भए नभएको विषय पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।