यासोक । पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अस्थाई केन्द घुर्बिसे पञ्चमीमा छ । भौगोलिक रूपले बिकट र लेकाली क्षेत्रमा रहेको गाउँपालिकामा बर्खामा आवतजावत गर्न निकै कठिन हुन्छ । प्रत्येक स्थानीय तहको केन्द्रमा बैंक स्थापना गर्ने सरकारले नीति लिएको छ । सोही अनुसार फाल्गुणनन्द गाउँपालिका—२ को राँकेमा विगत चार वर्षदेखि इन्भेष्टमेन्ट बैंकले सेवा सञ्चालन गर्दै आएको थियो । बर्खाको समयमा र अपायक क्षेत्रमा बैंक भएको भन्दै लामो समयदेखि गाउँपालिकावासीले गुनासो गर्दै आएका थिए । 

बैंकले पनि सुरक्षाको कारण देखाउँदै राँकेमै बैङकिङ सेवा सञ्चालन गर्दै आएको थियो । लामो समयदेखिको कसाकसीपछि अन्ततःः चार वर्षपछि गाउँपालिकाको अस्थाई केन्द्रबाटै बैंकले सेवा प्रवाह गर्न थालेको बैंकका शाखा प्रबन्धक सजय रेग्मीले बताए । बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङले गरेसँगै औपचारिक रूपमा बैंकले सेवा प्रवाह गर्न थालेको हो 

बैङ्कको शाखा राँकेमै बस्ने छ । तर गाउँपालिकाको सेवा प्रवाहमा कार्यालयले एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्ने प्रबन्धक रेग्मीको भनाइ छ । स्थानीय तहमा भित्रिएका बैंक मध्ये फाल्गुनन्दको राँकेमा शाखा हुँदा यस क्षेत्रका बासिन्दाले सडक खराबीका कारण आवतजावतमा धेरै सास्ती खेपिरहेका थिए । तत्काललाई तीन कर्मचारी, दुई सुरक्षा गार्ड र एक कार्यालय सहयोगी गरी ५ जना कर्मचारीले गाउँपालिकावासीलाई सेवा प्रवाह गर्ने शाखाले जनाएको छ ।