विराटनगर । झण्डै पाँच अर्बको लगानीमा विराटनगर  महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कमप्लेक्स बन्ने भएको छ । विराटनगर-९ मा रहेको गुद्रिबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक कमप्लेक्स बन्न लागेको हो ।

विराटनगर महानगरमा आयोजित एक कार्यक्रममा विराटनगर  महानगर र प्रदेश सरकार प्रदेश नं.१ ले व्यापारिक कमप्लेक्स बनाउने विषयमा समझदारी गरेको छ । प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्की, विराटनगर महानगरका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्की, वडा नं. ९ का वडाध्यक्ष बिश्वनाथ भगतलगायतको उपस्थितीमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र महानगरका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

परियोजनाको काम आगामी तीन महिनाभित्रै शुरुवात हुने  बताइएको छ । स्वदेशी लगानीकर्ताहरुकै लगानीमा बन्ने उक्त कमप्लेक्सको लगानी झण्डै ५ अरब भन्दा बढिको हुने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्कीले प्रदेश १ को राजधानीका रुपमा रहेको विराटनगरले अन्तराष्ट्रिय स्तरको व्यापारिक कमप्लेक्स पाउन आटेको बताए ।

यो योजनाले शहरको सुन्दरता, स्थानिय आर्थीक उपार्जन हुनका साथै आर्थीक रुपमा विराटनगर महानगर समेत सवल बन्ने कार्कीले बताए । यस्तै विराटनगर महानगरका मेयर भीम पराजुलीले नगरवासीको दीर्घकालिन हितलाई ध्यानमा राख्दै परियोजनालाई अगाडी बढाएको बताए ।

कुनै पनि विकास आफ्नै पालामा सम्पन्न हुनुपर्छ जरुरी छैन मेयर पराजुलीले भने, ‘राम्रो कामको शुरुवात भएको छ, केहीबर्षमै सम्पन्न हुनेछ ।’ आधुनिक, सुविधा सम्पन्न र अन्तराष्ट्रिय स्तरको व्यापारिक भवन बन्ने हुदा विराटनगर थप गतिशिल शहरको रुपमा स्थापित हुने मेयर पराजुलीको भनाइ थियो ।

कार्यक्रममा वडा नंं ९ का वडाध्यक्ष बिश्वनाथ भगतले व्यापारिक कमप्लेक्स बनाउन वडास्तरवाट गर्ने सवैखाले प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्तै परियोजना संझौताको रोहवरमा विराटनगर महानगरका सामुदायिक शाखा प्रमुख पुनम दाहाल र प्रदेश लगानी प्राधिकरण प्रदेश १ का अधिकृत वासुदेव कुवँर रहेका छन् । 

व्यापारिक कमप्लेक्स भवन  ३ वर्षभित्र बनिसक्ने छ भने यसमा निजि सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियावली, २०७६ मा भएको कानूनी व्यवस्थाको अधीनमा रही परियोजना सम्पन्न गरिने भएको छ ।