धरान । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले वार्षिकोत्सवको अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोहि क्रममा नेपाल नेत्र ज्योति सङ्घ, इटहरी आँखा अस्पतालसँगको सहकार्यमा प्रदेश १ का विभिन्न ठाउँमा निशुल्क आँखा शिबिर, रक्तदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ । शिबिर सञ्चालन गर्ने विषयमा बैङ्कका पुर्वाञ्चल क्षेत्रीय प्रमुख उमेश खड्का र अस्पतालका व्यवस्थापक नविन पन्तबीच आईतबार सम्झौता भएको छ । 

सम्झौता अनुसार बैङ्क र अस्पताल मिलेर विभिन्न समयमा विभिन्न ठाउँमा निशुल्क आँखा शिविरहरु सञ्चालन गर्ने र शिविरको क्रममा रोगको पहिचान भएका मध्ये मोतिबिन्दू र आँखामा मासु पलाउने रोगको अस्पतालले निशुल्क अप्रेसन गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

सम्झौता अनुसार सोमबार बैङ्कको बेलबारी शाखा प्राङ्गणमा शिबिर सञ्चालन भएको छ । शिविरमा निशुल्क रुपमा नाम दर्ता, आँखा जाँच, चश्मा जाँज, परामर्श सेवा उपलब्ध गराईने बैङ्कका क्षेत्रीय प्रमुख खड्काले जानकारी दिए । कार्तिक १३ गते बैङ्कको वार्षिकोत्सव पर्छ । यो अवसरमा बैङ्कले आँखा शिविरसँगै सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ ।