धरान । धरान होलिडेजले वडादशैंको अवसर पारेर पूर्वको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा दर्शनका लागि ‘हेली प्याकेज’ सुरु गरेको छ ।

आज (बिहीबार) वडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाबाट हेली प्याकेज सुरु गरेको हो । यो प्याकेज तेस्रोपटक सञ्चालन गरिएको प्रबन्ध निर्देशक अमृत मानन्धरले बताए । उनका अनुसार अष्टमीसम्म हेली प्याकेज रहेको छ । जसका लागि प्रतिव्यक्ति ३१ हजार ९ सय ९९ रुपैयाँमा धरान–पाथीभरा–धरानसम्मको प्याकेज रहेको छ ।

त्यस्तै धरान घुम्न चाहनेहरूका लागि पनि छुट्टै प्याकेज रहेको छ । हेलीमार्फत् धरानको दृश्यावलोकन गर्न चाहनेका लागि पनि सेवा रहेको सञ्चालक समितिकै कविन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिरामीहरूलाई तत्काल काठमाडौं जानुपर्ने वा अन्य कुनै स्थानमा जानुपर्ने भएमा पनि त्यसका लागि पनि सेवा रहेको छ ।

‘पहिलो लक्ष्य भनेको धरान–पाथीभरा–धरान प्याकेज नै हो’ धरान होलिडेज सञ्चालक समितिका अध्यक्ष कुन्दन श्रेष्ठले भने, ‘त्योसँगै अन्य खालका सेवा लिन चाहेमा त्यस्ता सेवा पनि प्रवाह गर्छौं ।’

धरानका चारजना पर्यटन व्यवसायीहरूले हेली प्याकेज ल्याएका हुन् । जसमा कुन्दन श्रेष्ठ, अमृत मानन्धर, अजय खनाल र त्रिरत्न अधिकारी रहेका छन् । यसक्रममा धरानका चारजना पत्रकारहरूलाई पनि धरानको दृश्यावलोकन गराएको थियो ।

हेलीका पाइलट राजेन्द्र दुवालका अनुसार समुद्र सतहबाट करिब २ हजार ५ सय मिटरको उचाइबाट धरानको दृश्यावलोकन गराइएको छ । धरानको ट्रिप करिब १० मिनेटको रहेको छ । धरान होलिडेजले सिम्रिक एयरसँगको साझेदारीमा हेली प्याकेज गर्दै आएको छ ।