पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा प्रदेशमै फरक रुपमा साहित्य कलाको क्षेत्रको प्रवद्र्धनको प्रयास स्वरुप चित्रकला (फाइन आर्ट ) विषयमा अध्यापन अघि बढेको छ । संगसंगै पत्रकारिता र कानूनको उस्तै फरक विषयपनि सञ्चालनमा छ ।

   प्रदेशमै कला साहित्यमा सक्रिय नगरको एभरेष्ट आर्ट फ्यूजनको पहलमा नगरको वडा नम्बर १ स्थित पथरीको पञ्चायत माविमा गत वर्षदेखि कक्षा ११ र १२ मा फाइन आर्ट विषयको पठन पाठन थालिएको छ ।

गत वर्ष कक्षा ११ बाट सुरु भएको फाइन आर्टले चित्रकला क्षेत्रमा स्थानीय नगरका मात्र नभएर पूर्वका युवा पुस्तालाई प्रोत्साहित गरेको छ । मोरङ, झापाका विभिन्न ठाउँका चित्रकलाप्रेमीहरु अध्ययनका लागि आएका छन् ।

१ नम्बर प्रदेशमा सामुदायिक विद्यालयमा पहिलो पटक पञ्चायतमा फाइन आर्ट कक्षा सुरु भएको पहलकर्ता एभरेष्ट आर्ट फ्यूजनकी संस्थापक अध्यक्ष एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सरोजा खड्गीले जनाइन् ।

चित्रकला सम्बन्धीको पठनपाठनलाई थप टेवा पुग्ने र कला प्रवद्र्धनका हिसावले नगरमा चित्रकलाका राष्ट्रियस्तरका कार्यक्रमहरु हुने गरेको सुनाउँदै उनले भनिन् ‘वन तथा सिमसारयुक्त मनोरम नगरमा त्यस्ता ठाउँहरुमा गएर अवलोकन गर्दै चित्र बनाउने काम पनि पठनपाठनसँग जोडेर बेलाबेला गर्ने गरेका छौं ।’

   नगरले कला साहित्यको प्रवद्र्धनमा नगरकै उपसमितिका रुपमा ‘कला साहित्य प्रवद्र्धन समिति’ गठन गरी कार्यक्रम प्रदान गर्दै आएको छ । फाइन आर्टको अध्यापनमा भनें त्यस्तो छुट्टै आर्थिक सहयोग पुर्याइहालेको अवस्था नभएपनि त्यसमा पनि होस्टेमा हैंसे गर्ने नगर प्रमुख दिलीपकुमार राईले वचन दिएका छन् ।

उनले फाइन आर्ट विषयको अध्ययन अध्यापन सम्बन्धमा पञ्चायत माविमा अवलोकन गरेका छन् । नगरमा कला क्षेत्रको प्रवद्र्धनको विषय पढाइ भएकोमा खुसी व्यक्त गरेका छन् ।

 उता, सो विद्यालयमा यो वर्षबाट कक्षा ११ मा पत्रकारिता विषय पनि पठनपाठनको अनुमति प्राप्त भएको छ । मानविकी र शिक्षा संकायमा १ सय पूर्णाङकको ऐच्छिक पत्रकारिताले प्रवेश पाएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जनाए ।

विज्ञान विषयमा प्रदेशमै उत्कृष्ठस्थान ल्याउन सफल सो विद्यालयमा गत वर्षदेखि कक्षा ११ मा यो वर्ष १२ मा कानून समेत त्यहाँ पढाई थालिएको छ ।

ग्रामिण क्षेत्रको विकासोन्मुख ठाउँमा सृजनशीलताको विकासको लागि फाइन आर्टका साथै चेतना तथा बौद्धिकतासँगको पेशासँग जोडिने पत्रकारिता र कानून विषयमा पठनपाठन थालिनु सृजनशीलता र चेतना पक्षको विकासमा महत्वपूर्ण भूमिका निर्वाह भएको पाइएको काठामाडौंमा रहेका नेपालका अगुवा युवा चित्रकार दिपेन्द्रमान बनेपालीको ठहर छ ।

उनले फाइनआर्टको कक्षाको अवलोकन गर्दै केहि समय पठनपाठन समेत गराएका थिए ।