विजयपुर । अभिभावक सङ्घ धरान नगर समितिले धरान उपमहानगरपालिकाको नेतृत्व शैक्षिक विषयमा गैरजिम्मेवार बनेको आरोप लगाएको छ ।

सङ्घले विज्ञप्ति जारी गर्दै  उपमहानगरपालिकाले सरोकारवाला पक्षसँग छलफलै नगरी शैक्षिक माफियाहरूको चक्रव्यूहमा फसेर विद्यालय खोल्ने निर्णय गरेको आरोप लगाएको छ ।

कोरोना महामारी अन्त्य नभएको अवस्थामा स्वास्थ्य मापदण्डलाई समेत ध्यान नदिई विद्यालय खोल्ने निर्णय भएकाले विद्यालयमा कुनै पनि बालबालिका सङ्क्रमित भएर गम्भीर स्वास्थ्य समस्या भएमा विद्यालय सञ्चालक र स्थानीय सरकारले पूर्ण जिम्मेवारी लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

निजी विद्यालयका विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउँदा धरान उपमहानगरको नेतृत्वले अभिभावकको शैक्षिक योग्यता खोजेको भन्दै विज्ञप्तिमा अभिभावकको शैक्षिक योग्यता खोज्ने जनप्रतिनिधिको शैक्षिक योग्यता बारे प्रश्न उठाइएको छ ।

निजी विद्यालयहरूमा राजनैतिक दलको नेतृत्व तह, स्थानीय सरकारका जनप्रतिनिधि, स्थानीय सरकारका उच्चपदस्थ कर्मचारी, स्थानीय सरकारले मानेका शिक्षाविद्हरूको समेत लगानी रहेकाले  उनीहरूको स्वार्थ अनुरूप काम भएको सङ्घको आरोप छ । सङ्घले अभिभावकका समस्या लिएर धरान उपमहानगरमा पुग्दा नेतृत्वले ‘निजी विद्यालयको शुल्क तिर्न नसक्नेले सामुदायिक विद्यालयमा पढाउनू’ भन्ने जवाफ दिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सामुदायिक विद्यालयको स्तरोन्नति नभएको अवस्थामा निजी विद्यालयहरूको एकाधिकार र शोषण सहन बाध्य अभिभावकका पीडा बुझ्ने निकाय नै नभएको आभास भएको छ ।’ उपमहानगरले अनलाइन कक्षाको शुल्क निर्धारण गर्न नसकेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।