इटहरी । प्रदेश १ मा नै नयाँ प्रविधि र भौतिक संरचनाका साथ स्थापना भएको ‘इपिल्याण्ड एण्ड वाटर पार्क’ पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको पार्कलाई आज (बिहीबार)देखि पुनः सञ्चालनमा ल्याइने भएको हो ।

कोरोना सङ्क्रमणको जोखिमका कारण बन्द भएका प्रदेश–१ का ठूला मनोरञ्जन पार्कहरू धमाधम सञ्चालनमा आउन थालेका छन् । ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा रहेको पार्क लामो समयदेखि बन्द हुँदा कम्पनीले आर्थिक नोक्सानी व्यहोर्नु परेको कम्पनीका सञ्चालक भीमबहादुर पौडेलले जनाए । कोरोनाको कारण समस्यामा परेको व्यवसायलाई आवश्यक सुरक्षा अपनाएर सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।

फनपार्कका सञ्चालक पूर्व डीआईजी ज्ञानविक्रम साहले अब पूर्णरूपमा पार्क सञ्चालन भएको बताए । उनले भने, ‘कोभिडका कारण अघिल्लै वर्ष सञ्चालनमा आउने पार्क फागुनमा मात्रै उद्घाटन भएको थियो, दुई महिना सञ्चालन हुन नपाउँदै फेरि बन्द गर्नुपर्ने अवस्था आइपरेको थियो, अब भने हामी निरन्तर पार्क सञ्चालन गर्दैछौं ।’ 

पार्कमा पूर्वको सबैभन्दा ठूलो वाटर पार्क, पानीसँग खेल्ने अत्याधुनिक वाटर स्लाइड, ६ सय मानिस अटाउने वेभ पुल, जिपलाइन, बोटिङ गर्दै लोप भइसकेका जनावरको इलेक्ट्रोनिक माध्यमबाट आवाज सुन्न सकिने सुविधा रहेको उनको भनाइ छ ।

त्यस्तै पार्कमा एकैपटक ६ हजार बढी पर्यटकले अवलोकन तथा अनुभव गर्न सकिने भएकाले दुई महिनाको अवधिमै तीस हजारभन्दा बढी मानिसहरूले अवलोकन गरेको उनले बताए । केही सातायता भारतको जोगवनी, बिहार जस्ता ठाउँबाट पनि पर्यटक आउने गरेको साहले बताए । ‘अहिले जोगवनीबाट पर्यटकहरू आए पछि हामी उत्साहित भएका छौं’ साह भन्छन्, ‘अब हामी चाँडै सुविधा सम्पन्न गेष्टहाउस र ठूलो स्वीमिङ पुल सञ्चालनमा ल्याउँदैछौं, त्यसका लागि आवश्यक जमिनसमेत लिइसकेका छौं ।’

गतवर्षको चैतमा नै निर्माण सम्पन्न भएको पार्क कोरोना महामारीका कारण सञ्चालनमा आएको थिएन । अहिले कोरोना महामारी कम भएकाले पार्क सञ्चालनमा ल्याएको सञ्चालकहरूले बताएका छन् । पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउँदै आएको होटल व्यवसायलाई पनि व्यवस्थित बनाएर पर्यटकहरू आकर्षित गर्न पूर्वका होटल व्यवसायीहरू पनि अग्रसर देखिएका छन् ।

पूर्वी नेपालको केन्द्रविन्दुको रूपमा रहेको इटहरीबाट पूर्वका प्रमुख पर्यटन क्षेत्रलाई लक्षित गरी ठूला तथा सुविधा सम्पन्न होटल खुल्ने क्रम सुरु भएको छ । इटहरी, धरान र इनरुवामा खुलेका होटलहरूले पर्यटकहरूलाई आकर्षण गर्न विभिन्न कलाकृतिदेखि लिएर महँगा सामग्रीहरूसमेत प्रयोगमा ल्याउन थालेको पर्यटन व्यवसायीहरू बताउँछन् । छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने तथा नेपाली पर्यटकहरूसमेत उतातिर जान थालेको व्यवसायीहरू बताउँछन् ।

इपिल्याण्डलाई सम्मान
४२ औं विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदेश १ कै सबैभन्दा ठूलो इपिल्याण्ड वाटर एण्ड एम्युजमेण्ट पार्कलाई कदर–पत्र प्रदान गरेको छ ।

इटहरीमा रहेको सो पार्कलाई मन्त्रालयले कदर–पत्रले सम्मान गरेको पार्क सञ्चालकमध्येका विनोद पौडेलले बताए । काठमाडौंमा भएको विशेष कार्यक्रममा आफूहरू सम्मानित भएसँगै पार्कले एक साताको लागि बम्पर छुट योजनासमेत सार्वजनिक गरेको छ । यसअगि एक जनाको ५ सय ७० रुपैयाँ शुल्क लिँदै आएकोमा अब ५ रुपैयाँमात्र लिन थालेको र विद्यार्थीहरूको लागि ३ सयमात्र शुल्क निर्धारण गरेको सञ्चालक पौडेलले बताए ।