विजयपुर । वराह ग्रुप अफ कम्पनीले धरानमा विद्युतीय स्कुटर बिक्री सुरु गरेको छ ।

कम्पनीले बुधबारदेखि बिक्री सुरु गरेको हो । बिजुलीबाट चार्ज गरी चलाउन सकिने स्कुटर बजारमा लिएको कम्पनीले जनाएको छ । कम्पनीले औपचारिक कार्यक्रम गरी स्कुटरको बिक्री सुरु गरेको हो ।

स्कुटर ३ वटा मोडेलका रहेको कम्पनीका मिडिया संयोजक प्रमोद पोर्तेलले जानकारी दिए । उनका अनुसार विद्युतीय स्कुटर ‘ई–प्लुटो सेभेन जी’ को मूल्य २ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

‘इटरेन्स’ को मूल्य २ लाख २९ हजार र इटरेन्स प्लसको १ लाख ९९ हजार रुपैयाँ रहेको छ । स्कुटर एक पटक चार्ज गरेपछि १ सय १६ किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ । दशैंतिहारको अवसरमा विद्युतीय स्कुटरको खरिदमा १० प्रतिशत छुट पनि रहेको छ । स्कुटरको खरिदमा विभिन्न उपहारसमेत रहेका छन् ।

१ सय ४ युनिट रगत सङ्कलन
वराह ग्रुप अफ कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ युनिट रगत सङ्कलन भएको छ ।

कम्पनीको परिकल्पनाकार तथा संस्थापक स्वर्गीय इन्द्रकुमार लामिछानेको ६४ औं जन्मजयन्तीको अवसरमा रक्तदान आयोजना गरिएको हो ।

वराहले ‘रक्तदान जीवनदान’ भन्ने नारालाई आत्मसाथ गर्दै धरान–८ स्थित वराह सपिङ कम्प्लेक्स धनकुटे रोडमा कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग रक्तदान कार्यक्रम सम्पन्न मिडिया संयोजक पोर्तेलले जानकारी दिए ।