पथरीशनिश्चरे । अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानका बारेमा जानकारी दिन मोरङको पथरी शनिश्चरेमा १ नम्बर प्रदेशकै पहिलो ‘जिओकृषि एप’ सुरु भएको सन्दर्भमा यसको मुख्य सहयोगी संस्था अष्ट्रेलियन एडका प्रतिनिधिले अनुगमन गरेका छन् ।

जिओकृषिको प्राविधिक सहयोगमा अष्ट्रेलियन एड, अष्ट्रेलियन लुथरन वल्र्ड सर्भिस, द लुथरन वल्र्ड फेडेरेशनको सहकार्य तथा पथरीशनिश्चरे नगरपालिकाको व्यस्थापनमा लुथरन सामुदायिक कल्याण समाजले नगरमा जिओकृषिको कार्यालय असोज ७ गते उद्घाटन गरेको थियो ।

लुथरन विश्व संगठन अन्तर्गत अष्ट्रेलियन एडको जेनेभाकी रिजनल कोअर्डिनेटर सुसन मोयुस, अष्ट्रेलियन दुतावास काठमाडौंकी कामक्ष राई याक्थुम्बा सहितको टोलीले वुधवार नगरको जिओकृषि एपसहित सञ्चालनमा रहेको ‘डिजिटल कृषि सेवा केन्द्र’को अनुगमन गरेको छ ।

अनुगमनका क्रममा मोेयुसले नेपालकै पालिकामध्येमा सम्भवत यो पहिलो काम सुरु भएकोमा खुसी व्यक्त गर्दै भूटानी शरणार्थी र स्थानीय नगरवासीबीचको सर्वपक्षीय सहकार्यको थप अपेक्षा गरेकी छन् ।

जिओकृषि एप सञ्चालनको तालिममा भूटानी शरणार्थीलाई पनि जोडेर कृषि क्षेत्रमा प्रोत्साहित गरेको नगर प्रमुख  दिलीपकुमार राईले जानकारी गराए । उनले शरणार्थी र स्थानीयबीचको सहकार्यमा कृषि, पशुपालन कार्यक्रम सञ्चालनमा रहेको र मानवीयताको आधारमा शरणार्थीका लागि रोजगारमा रोकटोक समेत नगरिएको उनले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, जिओकृषिका सहजकर्ता उमेश दनुवारले जानकारी गराए ।

१० वटै वडामा रहेको कृषि सञ्जालमार्फत कृषिको गतिविधि भएको र हालसम्म एपका बारेमा शरणार्थी सहित गरी १ सय ४० जनालाई तालिम लिइएको जानकारी गराइयो ।  पछिल्लो समयमा हेफर इन्टरनेशनलमार्फत अभियान नेपाल पनि जिओकृषि एप सञ्चालन तथा व्यवस्थापनको साझेदार बनेको छ ।

कृषकहरु घरमै बसेर बाली लगाउने तथा पशुपालनको तरिका, त्यसमा देखिएका समस्या, रोगको बारेमा जानकारी गराई त्यसको समस्या समाधान एवम् उपचारका बारेमा एपमार्फत जानकारी पाउने छन् । समस्याको समाधानको उपाय नगरका कृषि तथा पशु प्राविधिकले बताउने छन् । आवश्यक परे विज्ञहरुसँग पनि जानकारी लिएर जवाफ दिइने छ ।

नगरमा लुथरनले नमूनाका रुपमा केहि कृषक समूहसँग अघिल्लो वर्षबाट एपमा जोड्ने काम थालेको थियो । जस अन्तर्गत समूहमा गई इन्ड्रोइड मोबाइल र नेट उपलब्ध भएका सदस्यलाई एप चलाउने जानकारी गराउँदै एप रजिष्ट्रेशन गराउन सुरु गरेको थियो । हालसम्म नगरका १ सय ६८ जना एपमा दर्ता भएका छन ।

अव प्रत्येक समूहका २,२ जनालाई समूहमा गएर एप चलाउन सिकाउने गरीको टट तालिम प्रदान गर्ने योजना छ । साथै कार्यालयमा कृषकका लागि बस्ने, छलफल गर्ने, जानकारी प्राप्त गर्ने कार्यका लागि एलइडी टीभी राखेर इचौतारी निर्माण समेत गरिनेछ ।

पथरी शनिश्चरेमा लुथरनले १६ हजार र अभियान नेपालले ५ सय कृषकलाई एपमा जोड्ने लक्ष्य बनाएको छ । झापा र मोरङका ५ पालिकामा कृषि र पशुको कार्यक्रम सञ्चालन गर्ने क्रममा अभियान नेपालको पनि पहिलो पटक पथरी शनिश्चरेमा जिओकृषि एप सुरुवात भएको छ ।

सुरुको समयमा सो एपमा कृषिसम्बन्धी मात्र जानकारी समावेश गरिएको थियो । हाल आएर कुखुरा र गाईको जानकारी थपिएको छ । अब चाँडै बंगुरको पनि थपिने समाजका अध्यक्ष जोसेफ सोरेनले उल्लेख गरेका छन् । कृषकले ‘जिओकृषि फार्म’, संस्था तथा सहकारीले ‘जिओकृषि एक्सटेन्सन’ र प्राविधिकहरुले ‘जिओकृषि इन्टरप्राइजेज’ नामक एप सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

कार्यालय उद्घाटनका अवसरमा संस्थाले कार्यालयका लागि ल्यापटप, प्रिन्टर, फर्निचर सहित २ लाख ५६ हजार बराबरको आवश्यक सामगी प्रदान गरेको छ । पथरी शनिश्चरेका १० वटा वडामध्ये वडा नम्बर १ बाहेकका ९ वटा वडा कृषिमा आधारित छन् ।