इनरुवा । सुनसरी जिल्ला प्रशासनले दशैंतिहार लक्षित अनुगमन गर्ने तयारी थालेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवालाको बैठकले बजार अनुगमन गर्ने निर्णय गरेको हो । प्रजिअ ढकालका अनुसार जिल्लाका सबै पालिका क्षेत्रका बजार अनुगमन गरिनेछ ।

ढकालले अनुगमनलाई प्रभावकारी बनाउन खाद्य तथा गुण नियन्त्रण कार्यालयसहित सम्बन्धित कार्यालय तथा निकायलाई निर्देशन दिइएको बताए । उनले उपभोक्ता हितलाई ख्याल राखी बजार अनुगमनको कार्यलाई निरन्तरता दिन भनिएको बताए ।

बैठकका सहभागीहरूले अनुगमन र एक्सन सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिएका छन् । उनीहरूले अनुगमनको कार्यलाई कडाइका साथ लागू गराउनसके मात्रै कालोबजारी नियन्त्रणसँगै उपभोक्ता हित सुरक्षित हुने धारणा राखे ।

म्याद नाघेका सामग्री पहिचान गरी नष्ट गर्ने, भन्सार छलीका सामान भए नभएको यकिन गर्ने र मूल्यको हकमा बजार भाउ दाँज्नेजस्ता कार्यलाई अनुगमन टोलीले पहिल्याउँदै आवश्यकता अनुसारको काम कारबाही अघि बढाइने सुनसरी प्रशासनले जनाएको छ ।

बैठकले चाडबाडमा खाद्यान्नलगायतका सामग्री अभाव हुन नदिनेसमेत बताएकोे छ । बजार अनुगमन लक्षित बैठकमा स्थानीय तहका जनप्रतिनिधिको भने उपस्थिति थिएन । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र सरोकारवाला कार्यालयका कर्मचारी सहभागी थिए ।