धरान । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट खारेज गर्दै शेरबहादुर देउवा सरकारले ल्याएको संशोधित बजेट दुवै सदनमा पारित भएको छ । 

पूर्ववर्ती सरकारले १६ अर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट अध्यादेशमार्फत ल्याएको थियो । उक्त बजेटलाई प्रतिस्थापन गर्दै देउवा सरकारले बजेट ल्याएको थियो । उक्त बजेटलाई अब राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न बाँकी रहेको जनाइएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकारले पूर्ववर्ती सरकारले ल्याएको बजेट संशोधन गर्दै नयाँ बजेट ल्याएका थिए । 

राष्ट्रियसभाको बिहीबार बसेको बैठकले बजेट विधेयक पारित गरेसँगै दुवै सदनबाट बजेट पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइने बताए । पूर्ववर्ती सरकार अध्यादेशमार्फत ल्याएको बजेट भदौ ३० गते नै निष्क्रिय भएको थियो । जसका कारणले भदौ ३१ गतेबाटै सरकारले सङ्घीय सञ्चित कोषबाट खर्च गर्न नपाउने स्थिति बनेको थियो ।