पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानका बारेमा जानकारी दिन १ नम्बर प्रदेशकै पहिलो ‘जिओकृषि एप’ सुरु भएको छ ।

जिओकृषिको प्राविधिक सहयोगमा अष्ट्रेलियन एड, अष्ट्रेलियन लुथरन वल्र्ड सर्भिस, द लुथरन वल्र्ड फेडेरेशनको सहकार्य तथा पथरीशनिश्चरे नगरपालिकाको व्यस्थापनमा लुथरन सामुदायिक कल्याण समाजले बिहीबार पथरीशनिश्चरे नगरमा जिओकृषिको कार्यालय उद्घाटन् गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना बिष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, लुथरन सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेन, हेफर इन्टरनेशनमार्फतको अभियान नेपालका हेम श्रेष्ठ सहितको सहभागितामा कार्यालय उद्घाटन् भएको छ । पछिल्लो समयमा हेफर इन्टरनेशनलमार्फत अभियान नेपाल पनि जिओकृषि एप सञ्चालन तथा व्यवस्थापनको साझेदार बनेको छ ।

‘नगरमा विज्ञान प्रविधिसँग जोडिएर कृषिको क्षेत्रमा केहि गर्न खोजिएको छ । जसमा यो एप धेरै हदसम्म कृषकका लागि सहयोगी बन्न सक्छ । ’– कार्यालय उद्घाटनपछि मन्तव्य व्यक्त गर्ने क्रममा नगर प्रमुख राईले भने ।

 कृषकहरु घरमै बसेर बाली लगाउने तथा पशुपालनको तरिका, त्यसमा देखिएका समस्या, रोगको बारेमा जानकारी गराई त्यसको समस्या समाधान एवम् उपचारका बारेमा एपमार्फत जानकारी पाउने छन् । ‘केहि एपहरु भएपनि तिनीहरुले एकोहोरो जानकारी दिन्छन् ।

तर जिओकृषिले समस्याको समाधानस्वरुप जवाफसमेत कृषकहरुलाई पठाएर कृषि प्रवद्र्धनमा प्रविधिमार्फत प्रत्यक्ष सघाउनेछ ।’– लुथरन सामुदायिक कल्याण समाजका जिओकृषि फोकल पर्सन उमेश दनुवारले भने ‘समस्याको समाधानको उपाय नगरका कृषि तथा पशु प्राविधिकले बताउने छन् । आवश्यक परे विज्ञहरुसँग पनि जानकारी लिएर जवाफ दिइने छ ।’ उनले अब सबभन्दा पहिले इन्ड्रोइड मोवाइल चलाउनेहरुको तथ्यांक लिइने उल्लेख गरे ।

नगरमा लुथरनले नमूनाका रुपमा केहि कृषक समूहसँग अघिल्लो वर्षबाट एपमा जोड्ने काम थालेको थियो । जस अन्तर्गत समूहमा गई इन्ड्रोइड मोवाइल र नेट उपलब्ध भएका सदस्यलाई एप चलाउने जानकारी गराउँदै एप रजिष्ट्रेशन गराउन सुरु गरेको थियो । हालसम्म नगरका १ सय ६८ जना एपमा दर्ता भएका छन ।

अव प्रत्येक समूहका २,२ जनालाई समूहमा गएर एप चलाउन सिकाउनेगरिको टट तालिम प्रदान गर्ने योजना छ । एप चलाएको रेकर्डका आधारमा उनीहरुको रजिष्ट्रेशन रेकर्ड कार्यालयमा देखाउछ । पथरीशनिश्चरेमा लुथरनले १६ हजार र अभियान नेपालले ५ सय कृषकलाई एपमा जोड्ने लक्ष्य बनाएको छ ।

झापा र मोरङका ५ पालिकामा कृषि र पशुको कार्यक्रम सञ्चालन गर्ने क्रममा अभियान नेपालको पनि पहिलो पटक पथरीशनिश्चरेमा जिओकृषि एप सुरुवात भएको जनाउँदै संस्थाका हेम श्रेष्ठले आफु उत्साहित भएको बताए ।  

 सुरुको समयमा सो एपमा कृषि सम्बन्धि मात्र जानकारी समावेश गरिएको थियो । हाल आएर कुखुरा र गाईको जानकारी थपिएको छ । अब चाँडै बंगुरको पनि थपिने समाजका अध्यक्ष जोसेफ सोरेनले उल्लेख गरे । कृषकले ‘जिओकृषि फार्म’, संस्था तथा सहकारीले ‘जिओकृषि एक्सटेन्सन’ र प्राविधिकहरुले ‘जिओकृषि इन्टरप्राइजेज’ नामक एप सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

कार्यालय उद्घाटनका अवसरमा संस्थाले कार्यालयका लागि ल्यापटप, प्रिन्टर, फर्निचर सहित २ लाख ५६ हजार बराबरको आवश्यक सामगी प्रदान गरेको छ ।