एउटै छानामुनि नुनदेखि सुनसम्म पाइने भएपछि सपिङ सेण्टरमा किनमेल गर्नेको आकर्षण बढ्दो छ । सपिङ सेण्टर स्थापना गर्ने क्रम बढिरहेका बेला ‘अपवाद’ स्वरूप धरानमा गोर्खा डिपार्टमेण्ट स्टोरले आफ्नो सेवा बन्द गरेको छ । वराह ग्रुप अफ कम्पनीजले गोर्खाको संरचना अधिग्रहण गरेको छ र पुनर्संरचनामा अगि बढाएको छ । 

धरानमा किनमेल संस्कृतिलाई विकास गरेको वराह सपिङ सेण्टर अहिले ८ वटा कम्पनीको समग्ररूप ‘वराह ग्रुप’ प्रालि बनेको छ । धरानको महेन्द्रपथस्थित वराह १ ब्लक र धनकुटे रोडस्थित वराह २ ब्लक कम्पनीले सञ्चालन गरिरहेको छ । वराह ग्रुपले धरानमा रैथाने स्वादहरू पस्कन ‘फुडकोर्ट’ को अवधारणा अगि सारेर काम थालेको वराह ग्रुपको प्रदेश सचिवालयका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत गङ्गा कालिकोटेले बताए । फुडकोर्टसँगै वराहले पहिलो पटक वराह २ ब्लकमा फार्मेसी, स्टेशनरी, इलेक्ट्रोनिक्सलगायतका किनमेलमा ‘कम्प्लिट प्याकेज’ दिने योजना अगि सारेको छ । ‘पहिले फार्मेसी गरेर हेर्ने त्यसपछि एकदमै ठूलो हस्पिटल खोल्ने तयारी गर्नेछौं’ अधिकृत कालिकोटेले भने, ‘हामीले महँगो हस्पिटलमा पैसा तिर्न नपरोस् भनी मानिसको जीवन बचाउने काममा पनि वराहले लाग्नुपर्नेछ ।’

वराह १ बिल्डिङ सडक विस्तारका कारण खुम्चनुपर्ने अवस्था आउन सक्ने भएकाले वराह २ ब्लकलाई आकर्षक शाखा बनाउने ग्रुपको योजना रहेको अधिकृत कालिकोटे बताउँछन् । ग्रुपमा विभागहरू छुट्याएर जिम्मेवारीलाई विकेन्द्रित गरेको उनी बताउँछन् । ‘वराह एउटा सिस्टममा प्रवेश गरेको छ, कर्पोरेट डिसिप्लिनमा अगि बढेकाले जसले जे जिम्मेवारी पाएको छ, त्यहीअनुसार वराह ग्रुपले कार्यसम्पादन गर्नेछ’ प्रमुख प्रशासकीय अधिकृत कालिकोटेले भने, ‘कम्पनीका ८ वटा प्रतिष्ठान अब चुस्त रूपमा अगि बढ्छ ।’

‘केएफसी’ विस्थापन गर्ने निर्णय

सपिङ मलहरूमा ‘केएफसी’ (केण्टकी फ्राइड चिकेन) को बढ्दो आकर्षण छ । वराहले केएफसीलाई विस्थापित गरी ‘जातीय मौलिक परिकार’ लाई आफ्नो ब्राण्ड बनाउने निर्णय गरेको छ । प्रायः सुपर मार्केट, मल र स्टोरहरूमा ‘केएफसी’ लाई आकर्षणका रूपमा लिइन्छ । इटहरीमा हालै सुरु गरिएको नेपालकै ठूलो भाटभटेनी सुपर स्टोरले केएफसीलाई प्राथमिकतामा राखेको छ । तर, वराह ग्रुपले त्यसलाई विस्थापन गरी स्थानीय मौलिक परिकारलाई बढावा दिन ‘फुड कोर्ट’ को अवधारणा अगि सारेको छ ।

यो ‘अमेरिकन फास्ट फुड चेन’ केएफसी लिनका लागि वराहले प्रक्रिया अगि बढाएको थियो । नापजाँच गरी ठाउँ छनोटसमेत गरेको थियो । तर, तत्काल यो फ्राइड चिकेनको परिकारलाई नराख्ने निर्णयमा पुगेको वराहका प्रमुख प्रशासकीय अधिकृत कालिकोटेले बताए । ‘केएफसीलाई भन्दा पनि हामीले अन्य नौलो व्यवसायको विकास गर्ने निर्णय ग-यौं’ अधिकृत कालिकोटेले भने, ‘फुडकोर्टको संरचना निर्माण हुँदैछ ।’ वराह ग्रुपले गोर्खाबाट लिएको संरचनालाई पुनर्निर्माण गरिरहेको छ । यो पुनर्निर्माणमा साविकको फिल्म हल भत्काइएको छ । सो स्थानमा ‘किड्स वर्ल्ड’ नामक कम्पनी स्थापना हुनेछ । ‘त्यहाँ ह्युज प्लानमा काम हुँदैछ, बालबच्चाका लागि खेल्ने ठाउँ निर्माण  हुँदैछ’–अधिकृत कालिकोटेले भने । कालिकोटेका अनुसार ‘वराह २’ मा नयाँ फिल्म हल निर्माण हुनेछ । जुन फिल्म हल साविकको भन्दा ‘लक्जरियस’ हुनेछ । ३  हजारसम्म मानिस अट्न सक्ने सेमिनार हल निर्माण हुने छ । हुक्काबार, कफीसप हुनेछ ।

वराहले दिनेछ, मौलिक परिकारको स्वाद

वराहले धरानमा जातीय मौलिक परिकारलाई आफ्नो ब्राण्ड बनाउने निधो गरेको छ । यहाँका राई जातिको तीते (वाचिप्पा), लिम्बू जातिको याङ्बेन, नेवार जातिको योमह्री–चटामरीलगायत मौलिक स्वादलाई पस्कनेछ । 

‘धरान आदिवासी जनजातिको बाहुल्यता रहेको क्षेत्र हो तर, हामीलाई तीते खान उँधौली–उँभौली पर्खनु पर्छ, याङ्बेन खान लिम्बूकै चाडपर्व पर्खनु पर्छ र योमह्री, चटामह्री खान नेवारी पर्व पर्खनु पर्छ,’ वराह ग्रुपका प्रमुख प्रशासकीय अधिकृत गङ्गा कालिकोटे प्रश्न गर्छन्, ‘किन धरानले यो मौलिक स्वादलाई दिनैपिच्छे सर्भ गर्न सक्दैन ?’

धरानको मौलिक स्वादलाई वराहले ब्राण्ड बनाउने अधिकृत कालिकोटे बताउँछन् । वराह २ ले जातीय परिकार पस्कनका लागि मार्ग प्रशस्त गर्नेछ । त्यस्ता परिकार बेच्न चाहनेका लागि वराहले प्लेटफर्म दिने छ । ‘हामीले एउटा अवधारणा अगि सारेका छौं, जसले आफ्ना जातीय परिकार पस्कन सक्नुहुन्छ, उहाँहरूलाई वराहले स्टल दिनेछ, त्यहाँ उहाँहरूले जातीय भेषभूषामा सांस्कृतिक र परम्परागत परिकारहरू पस्कनुहुनेछ, यहाँको मौलिक स्वाद प्रत्येक दिन पारखीहरूले चाख्न पाउनेछन् ।’ कोभिड सङ्क्रमणको चपेटामा परेको कर्पोरेट बजारमा वराहले आफूलाई थप हिम्मतका साथ अगाडि बढाइरहेको छ । सङ्क्रमणकै अवस्थामा पूर्वमा ठूलो व्यापार गरिरहेको गोर्खा डिपार्टमेण्ट स्टोर धरानबाट विस्थापित भएको छ भने त्यहीँ वराहले आफ्नो व्यवसाय प्रवद्र्धन गरेको छ ।