विराटनगर । विराटनगरमा पहिलो पटक नेल आर्ट सञ्चालनमा आएको छ । पूर्वाञ्चाल कलेज प्रिन्सिेसका बिजेता सिम्रन श्रेष्ठले विराटनगर – ९ मा ‘सीमि नेल इट’ शनिबारदेखि सञ्चालनमा ल्याएकी हुन् ।

उक्त सीमि नेल इटको उदघाटन अभिनेता दिपकराज गिरी र चलचित्र निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलाले संयुक्त रूपमा उद्घाटन गरे । काठमाण्डौ बाहिर विराटनगरमा सञ्चालनमा आएको नेल इट पहिलो भएको दाबी गरिएको छ ।

नङमा विभिन्न रङ लगाएर आफूलाई मनपर्ने बुट्टा, हाँगाका साथै अन्य आँकृति कार्नुलाई नेल आर्ट भनिन्छ । अहिले नेल आर्ट विदेशमा मात्र नभएर नेपालमा पनि निकै लोकप्रिय हुन थालेको छ ।

‘नेल इट गर्नुपर्यो भने काठमाण्डौ जानुपर्ने बाध्यता रहेको थियो । अब यसको अन्त्य भएको छ,’ संचालक समेत रहेकी ब्यूटिसियन सन्तोषी श्रेष्ठले भनिन्, ‘विराटनगरमा खोलेको नेल इट पहिलो हो ।’ सौन्दर्य क्षेत्रमा दुई दशकदेखि लागि परेकी श्रेष्ठले ब्यूटिपार्लरपछि नेल इट खोलेकी हुन् ।

उनकी छोरी सिम्रनले नेल आर्टको ६ महिनाको डिप्लोमा कार्ष गरेपछि विराटनगरमा करिब १५ लाख रूपैयाँ लागतमा  सिमी नेल इट खोलेकी हुन् ।

नङलाई विभिन्न रंग–रूप दिएर लामो, चेप्टो वा यु सेप दिएर कृत्रिम नङ जोड्ने चलन फेसनका रूपमा भित्रिसकेको छ । नेल आर्ट २५ भन्दा बढी शैलीमा गर्न सकिन्छ ।

नेपालमा भने पाँच प्रकारका शैली चल्तीमा छन् । फ्रेन्स, कलरफुल, पेपर आर्ट, डट सेप, एल सेप, स्टाम प्रिन्ट आदि अहिले चल्तीमा रहेको ब्यूटिसिनयहरू बताउँछन् ।