धरान । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको हत्याका आरोपी लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।

हत्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट बरामद गरेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले बताए । सो हत्याकाण्डमा लोकबहादुरलाई सहयोग गरेको आशङ्कामा नरेशमाथि समेत छानबिन थालिएको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान गर्न १० प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ । मादी घटनामा अर्का पनि हत्या आरोपी पक्राउ गरेको समाचार भाइरल बनेपछि प्रहरीले उक्त विषयमा प्रष्ट्याउँदै मोबाइल बरामदपछि घटना बुझ्नका लागि मात्रै अनुसन्धानका लागि ल्याइएको भनी जनाएको छ ।

भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । उनीहरूको हत्या गरेको स्वीकार गरेका लोकबहादुरलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।