इनरुवा । कोरोनाका कारण लामो समययता बन्द रहँदै आएका सुनसरीका विद्यालय खोल्ने तयारी थालिएको छ ।

विद्यालय सञ्चालनको बारेमा डीसीसीएमसीले स्पष्ट धारणा सार्वजनिक नगरे पनि स्मार्ट लकडाउनको परिधिमा रही अगि बढ्न सक्ने भनेको छ । सोही बुँदालाई टेकेर जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयले कक्षा सञ्चालनको तयारी अगि बढाएका छन् ।

प्याब्सन सुनसरीले जिल्लाका सबै पालिकामा पठन–पाठन सञ्चालनमा ल्याउने गरी छलफल थालेको जनाएको छ । प्याब्सन सुनसरीका अध्यक्ष विष्णु कोइरालाले कोरोनाको अवस्था सामान्य बन्दै गएको र विद्यालय मात्रै बन्द गरिनु उचित नहुने देखिएकाले सञ्चालनको तयारीमा जुटेको बताए ।

उनले असहज अवस्थामा अनलाइन माध्यमबाट पठन–पाठनमा जोड दिइएकोमा अब भने विद्यालय खोलेरै कक्षा सञ्चालन गरिन लागेको बताए । त्यसका लागि उनले स्थानीय तहसँग छलफल अगि बढाइएको बताए ।

प्याब्सनले स्वास्थ्य मापदण्ड पालनाको सवालमा कुनै कसर बाँकी नराख्ने गरी जिल्लाभरका निजी विद्यालय सञ्चालनको तयारी थालेको कोइरालाले जानकारी दिए ।

उता नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सुनसरीका उपाध्यक्ष चिरञ्जीवी रेग्मीले आफूहरू समेत क्रमशः विद्यालय खोल्नुपर्छ भन्ने पक्षमा रहेको बताए । यद्यपि उनले पूर्णरूपमा विद्यालय खोल्न हतार गर्न भने नहुने बताए । रेग्मीले क्रमशः कक्षा सञ्चालनमा ल्याई पठन–पाठन भने थाल्न सकिने बताए ।

रेग्मीले स्वास्थ्य मापदण्ड अपनाएर ठूला कक्षा सञ्चालन गर्ने र त्यसको परिणाम हेरेर मात्रै अन्य कक्षा सञ्चालनको विषयमा निर्णय लिइनु उपयुक्त हुने बताए । उनले सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने सवालमा आफूहरू सोही विषयउपर छलफलको चरणमा रहेको बताए ।

विद्यालय सञ्चालनमा ल्याउने सवालमा सुनसरी प्रशासनले समेत स्थानीय तहको निर्णय मान्य हुने भनेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विद्यालय सञ्चालनको सवालमा स्थानीय तहले निर्णय लिन सक्ने बताए । उनले स्वास्थ्य मापदण्ड कार्यान्वयनमा ल्याई विद्यालय सञ्चालन गर्न र गराउन सक्ने बताए ।

प्रजिअ ढकालले स्थानीय तहले स्मार्ट लकडाउन सम्बन्धी स्वयम् निर्णय लिन सक्ने भएकाले सरोकारवाला पक्षसँगको छलफलको निर्णय बमोजिम विद्यालय सञ्चालनका बारेमा धारणा बनाउन सक्ने बताए ।

यसैबीच सरोकारवालाहरूले विद्यालय खुलाउने सम्बन्धमा स्थानीय तहसँग समन्वयात्मक छलफललाई तीव्रता दिइरहँदा इनरुवा नगरपालिकाले भने आइतबार बाटै विद्यालय सञ्चालनको निर्णय गरेको छ ।

नगरपालिकामा बसेको शिक्षा समितिको बैठकले भदौ २७ गते आइतबारबाट नगरभित्रका सबै विद्यालय खुलाउने निर्णय गरेको हो ।
सरोकारवालासहितको उपस्थितिमा शिक्षा समितिको बैठकले विद्यालय खोल्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले बताए । उनले आइतबारबाट नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा ल्याउन पाइने गरी निर्णय भएको जानकारी दिए । 

निरौलाले विद्यालय सञ्चालनको निर्णयसँगै स्वास्थ्य मापदण्डसमेत अनिवार्य गरिएको बताए । उनका अनुसार भौतिक उपस्थितिमा पठन–पाठन गराउँदा दूरी कायम, मास्कको प्रयोग, विद्यालय प्रवेशको क्रममा ज्वरो, रुघाखोकी जाँच तथा साबुनपानीले हात धुने व्यवस्था मिलाइएको हुनुपर्ने जस्ता मापदण्ड अनिवार्य गरिएको छ ।

नगरपालिकाले मापदण्ड पालना भए नभएको सन्दर्भमा नियमित अनुगमनसमेत गर्ने जनाएको छ । उसले मापदण्डअनुसार विद्यालय सञ्चालन नगरिएको पाइए सो सम्बन्धमा शिक्षा समितिको राय बमोजिमको कारबाही प्रक्रिया अगि बढाइने जनाएको छ ।

विद्यालय सञ्चालकको आग्रहमा नगर शिक्षा समितिले उक्त निर्णय लिँदै गर्दा बढी विद्यार्थी भएका कक्षाको हकमा भने सेक्सन थप गरेर कक्षा सञ्चालन गरिनु पर्ने भनेको छ ।

बैठकमा सबै कुरामा सहमति जुटेपछि मात्रै विद्यालय खुला गर्ने विषयको निर्णय लिइएको नगरपालिकाको कार्यालयले जनाएको छ । यसैबीच कोसी गाउँपालिकाले समेत आइतबारबाटै विद्यालय सञ्चालनमा ल्याउने भनेको छ ।