प्याब्सन नगर कार्यसमिति विराटनगरको चुनावी सरगर्मी बढेको छ । प्याब्सन नगर कार्यसमतिकिो दोस्रो अधिवेशनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको हो ।

आउँदो भदौ ३१ गते विराटनगरमा हुने प्याब्सन नगर कार्यसमितिको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

अघि पनि निर्वाचनबाट नयाँ नेतृत्व चयन गरेको नगर प्याब्सनमा यसपटक पनि निर्वाचन हुने देखिएको छ । अध्यक्षसहित विभिन्न पदमा आकांक्षी बढ्दा प्याब्सन नगर कार्यसमितिको निर्वाचन हुने देखिएको हो ।

प्याब्सन नगर कार्यसमितिका उपाध्यक्ष मोहन बुढाथोकी अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यस्तै अध्यक्षमा अर्जुन श्रेष्ठ, शिवप्रसाद अधिकारी र संजयकुमार यादवले पनि उम्मेदवारी दिने चर्चा रहेको छ । 

अध्यक्षको आकांक्षी श्रेष्ठ प्याब्सन नगर कार्यसमिति विराटनगरका वर्तमान सचिव हुन् भने अधिकारी कोषाध्यक्ष हुन् । यस्तै अध्यक्षका आकांक्षी यादव सल्लाकार हुन् । 

सचिवमा दुई जनाको नाम चर्चामा रहेको छ । वर्तमान कार्यसमिति सदस्य अशोक लामाले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् भने कानुनी सल्लाहकार दीपक घिमिरेले पनि सोही पदमा उम्मेदवारी दिने चर्चा रहेको छ ।

कोषाध्यक्षमा वर्तमान सहसचिव नन्दलाल मण्डलले उम्मेदवारी दिने भएका छन् । सोही पदमा गोपाल रिजालले पनि उम्मेदवारी दिने चर्चा रहेको छ । सह–सचिव सर्वसम्मत हुने देखिएको छ । 

अहिलेसम्म सह–सचिवमा हीरा थापाको मात्र नाम चर्चामा रहेको छ । उनी वर्तमान कार्यसमिति सदस्य हुन् ।

विराटनगर नगर प्याब्सनमा ५६ जना निजी विद्यालय सदस्य रहेको सचिव अर्जुन श्रेष्ठले जानकारी दिए । चुनावी सरगर्मी बढेसँगै विराटनगर प्याब्सन नगर समितिका अध्यक्ष इन्द्र राई सर्वसम्मत नेतृत्व चयन गर्न लागि परेका छन् ।