देउराली । धरानमा पशुदाना उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको छ । प्रदेश नम्बर १ कै अत्याधुनिक कम्प्युटराइज प्रविधिसहितको १७ करोड लागतमा धरान उपमहानगरपालिका –८ औद्योगिक क्षेत्रभित्र ब्राइट फिड प्रालि सञ्चालनमा आएको हो ।

पशुपंक्षी पालन गर्ने कृषक, दाना वितरण गर्ने बितरक,  पशु पोषणविद, पशु चिकित्सकसहितका २० जनाको समूहले सञ्चालनमा ल्याएको उक्त उद्योगले कुखुरा, बङ्गुर, गाई, भैँसी, माछालगायतका सम्पूर्ण पशुपंक्षीको गुणस्तरीय कच्चा पदार्थबाट सन्तुलित आहार उत्पादन गर्ने  उद्योगका अध्यक्ष गोपाल श्रेष्ठले बताए । 

पूर्वी पहाडी क्षेत्रका किसानलाई लक्षित गरी सञ्चालन गरिएको उद्योगले प्रतिदिन २ सय मेट्रिक टन दाना उत्पादन गर्ने श्रेष्ठले बताए ।  बजार विस्तारका लागि थप २० करोड लगानी गर्ने योजना रहेको उद्योगले प्रत्यक्ष रूपमा ५० जनाभन्दा बढी र अप्रत्यक्ष रूपमा २ सय जनाभन्दा बढीका लागी रोजगारी सिर्जना हुने श्रेष्ठले जानकारी गराए ।

उद्योग प्रदेश १ का ६ हजारभन्दा बढी कृषकलाई फाइदा पुग्नुका साथै देशैभरका धेरैभन्दा धेरै कृषकमा आफ्नाे सेवा विस्तार गर्ने अध्यक्ष श्रेष्ठले जनाकारी गराए । श्रेष्ठले भने 'म आफू पनि पशुपालक किसान भएका कारण मेरो यो पेशामा सफल हुनका लागि ३ वटा मुख्य कुराको आवश्यकता पर्दछ पहिलो फर्मको उचित व्यावस्थापन, पशुपंक्षीको  गुणस्तरीय नश्ल र सन्तुलित आहारा नै हो । हामीले किसानमाझ सन्तुलित आहारा पुर्याउने जमर्को गरेका छौ । ' 

उनले उद्योगले दाना उत्पादन तथा बिक्री गर्ने मात्र नभई सेवाका रूपमा कृषको घर–गाउँमा  पशु चिकित्सक तथा प्राविधिकलाई खटाई उनीहरूको समस्या समाधान गर्न सहयोगसमेत गर्ने बताएका छन् ।

 उद्योगको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले गरेका छन् ।