अफगानिस्तानमा आज (शनिबार) तालिबानले नयाँ घोषणा गर्ने भएको छ। 

शुक्रबारै घोषणा गर्ने भनिए पनि तालिबानका शीर्ष नेताले स्थगन गरेका थिए। अब आफ्नो नेतृत्वको सरकार आज घोषणा गरिने तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन्। 

तालिबान स्रोतका अनुसार सरकारको नेतृत्व तालिबानका सहसंस्थापक एवं दोहास्थित राजनीतिक कार्यालयका प्रमुख मुल्ला अब्दुल गनी बरादरले गर्नेछन्। 

मुल्ला बरादरसँगै तालिबानका संस्थापक मुल्ला उमरका छोरा मुल्ला मोहम्मद याकुब र शेर मोहम्मद अब्बास स्टेनजकईले पनि सरकारमा महत्त्पूर्ण भूमिका पाउनेछन्। 

तालिबानका सूचना तथा संस्कृति आयोगका वरिष्ठ अधिकारी मुफ्ती इनामुल्लाह सामंगानीले सबै शीर्ष नेता राजधानी काबुल आइसकेको र नयाँ सरकार घोषणाको अन्तिम तयारी रहेको बताएको छन्। उनका अनुसार सरकार गठनका लागि आपसी सहमति भइसकेको छ। मन्त्रिमण्डलका विषयमा केही आवश्यक छलफल जारी छ। 

इस्लामिक ढाँचाको सरकार
एक वरिष्ठ तालिबान अधिकारीका अनुसार संगठनका सर्वाेच्च नेता हबतुल्लाह अखुन्दजादाले धार्मिक पक्ष र इस्लाम दायरामा रहेर इरानी शैलीको राज्य व्यवस्थाको ढाँचा तयारीमा ध्यान केन्द्रित गरेका छन्। प्राप्त जानकारीअनुसार नयाँ तालिबानी सरकारमा १२ जना मुस्लिम विद्वान रहेको सुरा वा सल्लाहकार परिषदसँग २५ मन्त्री हुनेछन्। 

६ महिनादेखि ८ महिनाभित्र एक लोया जिरगा अर्थात् महासभा बोलाउने योजना पनि बनाइँदै छ, जहाँ संविधान र आगामी सरकारको संरचनाबारे छलफल गर्न अफगान समाजका बूढापाक र प्रतिनिधिलाई सहभागी गराइनेछ। एजेन्सी