धरान । कोरोना महामारीका कारण मिति तय भए पनि स्थगित गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने निर्णय गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको हो । यसअघि बोर्डले साउन ३१ गतेबाट परीक्षाको मिति तय गरेको थियो । तर, कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सहमतिअनुसार परीक्षा सञ्चालन गर्ने निर्णय छ ।

कक्षा १२ को परीक्षा दुईपटक स्थगित गरिएको थियो । पौने चार लाख विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदै छन् ।